कांग्रेस सांसदको प्रश्नः कर्णालीका जनतालाई सिटामोल छैन, ज्वरो आएका मन्त्रीलाई लिन चाहिँ हेलिकप्टर ?

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा थापाले नागरिकले सिटामोलसमेत नपाउने, सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने र कर्णालीमा औषधि तथा राहतको अभाव हुने अवस्था रहँदा सरकारले सुशासनको कुरा गर्नुको अर्थ नभएको बताइन्।

उनले काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी तथा खानपान पचाउन नसकेपछि लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याउने गरिएको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाइन् ।

उनले भनिन्, ‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्। काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ।’

मन्त्रीलाई काठमाडौं ल्याउन ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सरकारले विपन्न नागरिकका लागि तीन लाख रुपैयाँ खर्च गरेर राहत पुर्याउन नसकेको उनको आरोप थियो।

‘मन्त्री काठमाडौं ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन,’ उनले भनिन्।
बिहान–बेलुकाको छाक टार्नसमेत कठिन भएका नागरिकलाई राज्यले एक सिलिन्डर ग्याससमेत उपलब्ध गराउन नसकेको भन्दै थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *