रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता दर उनको वर्तमान राष्ट्रपतिकालकै न्यून विन्दुमा झरेको छ । रोयटर्स/इप्सोसको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको कार्यसम्पादनलाई समर्थन गर्ने अमेरिकीको संख्या ३३ प्रतिशतमा सीमित भएको छ।
सर्वेक्षणमा ६४ प्रतिशत अमेरिकीले ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्। यसअघि अगस्टको सुरुआतमा गरिएको सर्वेक्षणमा ट्रम्पको अनुमोदन दर ३५ प्रतिशत थियो। हालको ३३ प्रतिशत उनको पहिलो कार्यकालमा सन् २०१७ को डिसेम्बरमा पुगेको न्यूनतम स्तरसँग समेत बराबर हो।
इरानसँगको युद्ध र त्यसबाट बढेको पेट्रोलियम मूल्यले ट्रम्पको लोकप्रियतामा थप असर पारेको सर्वेक्षणले देखाएको छ। इरानमाथि अमेरिका र उसका साझेदार इजरायलले गरेको आक्रमणपछि विश्वको तेल व्यापारको करिब पाँचौँ हिस्सामा असर परेको छ।
ट्रम्पले सुरुमा इरानसँगको द्वन्द्व केही सातामै अन्त्य हुने बताएका थिए। तर इरानको प्रतिरोध जारी रहँदा युद्ध लम्बिने चिन्ता बढेको छ। ८० प्रतिशत अमेरिकीले इरानमा अमेरिकी संलग्नता लामो समयसम्म जारी रहने बताएका छन्। यस्तो धारणा राख्नेमा ८७ प्रतिशत डेमोक्रेट र ७१ प्रतिशत रिपब्लिकन छन्।
केवल १६ प्रतिशत अमेरिकीले युद्ध केही सातामै अन्त्य हुने बताएका छन्। त्यस्तै, पाँचमध्ये एक अमेरिकीले मात्र इरानसँगको युद्ध आवश्यक वा उचित भएको बताएका छन्।
युद्ध र पेट्रोलको मूल्यवृद्धिले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई दबाब बढाएको छ। प्रतिनिधिसभामा झिनो बहुमतमा रहेको रिपब्लिकन पार्टीले आफ्नो बहुमत जोगाउन चुनौती सामना गरिरहेको छ भने डेमोक्र्याटहरूले सिनेटमा समेत बहुमत हासिल गर्ने सम्भावना देखेका छन्।
यसैबीच, अर्थतन्त्र व्यवस्थापनमा पनि डेमोक्र्याटप्रति मतदाताको विश्वास बढेको सर्वेक्षणले देखाएको छ। ३८ प्रतिशत मतदाताले डेमोक्र्याटले अर्थतन्त्र राम्रोसँग व्यवस्थापन गर्ने बताएका छन् भने ३५ प्रतिशतले रिपब्लिकनलाई रोजेका छन्। जीवनयापनको लागत व्यवस्थापनमा पनि डेमोक्र्याटलाई बढी सक्षम ठानिएको छ।
