बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ अनसँग आफ्नो ‘एकदमै राम्रो सम्बन्ध’ रहेको भन्दै दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास ‘उल्लेख्य रूपमा घटाउने’ बताएका छन् । ट्रूथ सोसलमा राखिएको पोस्टमा उनले हालै इरानलाई परमाणुअस्त्रमुक्त बनाउने अमेरिकी प्रयासमा सहभागी हुन दक्षिण कोरियाले अस्वीकार गरेको बताए।
‘यी अभ्यासहरू महँगा मात्र होइनन्, यसको ठूलो हिस्सा सधैँझैँ संयुक्त राज्य अमेरिकाले बेहोर्ने गर्छ तर यसले पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण सन्देश पनि दिन्छ।’
सोलले अमेरिकासँगका यी अभ्यासहरू ‘पूर्वनिर्धारित तालिका’अनुसार सञ्चालन हुने बताएको छ। प्योङ्याङले कुनै प्रतिक्रिया जनाएको छैन।
अघिल्लो महिना उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएको बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो।
आइतबार सामाजिक सञ्जालमा ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीच सोमवारदेखि सुरु हुने वार्षिक संयुक्त सैन्य अभ्यास ‘स्थगित गर्न अब धेरै ढिला भइसकेको’ उल्लेख गरे।
ट्रम्पको पछिल्लो अभिव्यक्ति उनले सन् २०१८ मा किम जङ अनसँग खिचिएको एउटा पुरानो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको २४ घण्टाभन्दा कम समयपछि आएको हो।
