बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत जेरेड कुशनरले गाजा शान्ति योजनाको कार्यान्वयनबारे छलफल गर्न हमासका नेता खलिल अल–हय्यासँग भेटवार्ता गरेका छन् ।
प्यालेस्टिनी अधिकारीका अनुसार कुशनरले आइतबार इजिप्टमा हमासका नयाँ नेता हय्याको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका हुन् । गत वर्ष गाजामा युद्धविराम सम्झौता भएपछि हमास नेतृत्वसँग कुशनरको यो स्तरको पहिलो भेटवार्ता भएको बताइएको छ ।
गत महिना ट्रम्प नेतृत्वको ‘बोर्ड अफ पिस’ले गाजामा हमास र अन्य सशस्त्र समूहको ‘पूर्ण निशस्त्रीकरण’का लागि सहमति भएको जनाएको थियो । तर, इजरायलले गत साता ट्रम्पको १५ बुँदे शान्ति योजना अस्वीकार गरेको थियो । योजनामा हमासको निशस्त्रीकरणसँगै इजरायली सेना गाजाबाट फिर्ता हुने र नयाँ नागरिक प्यालेस्टिनी प्रशासनअन्तर्गत गाजाको पुनर्निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
वार्तामा हमासका हतियार निष्क्रिय पार्ने ठोस कदम, इजरायली सेनाको फिर्ती र मानवीय सहायता विस्तारलगायत विषयमा छलफल भएको बताइएको छ । बैठकमा ‘बोर्ड अफ पिस’का दूत निकोलाय म्लादेनोभ र बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरसहित इजिप्ट, कतार र टर्कीका प्रतिनिधिहरू पनि सहभागी थिए ।
कुशनरले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँग पनि भेटवार्ता गरेका छन् । इजरायली सञ्चारमाध्यमका अनुसार कुशनर, म्लादेनोभ र ब्लेयरले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गर्ने तयारी छ ।
नेतन्याहुले भने सम्झौता कार्यान्वयन गर्नुअघि हमास पूर्ण रूपमा निशस्त्र हुनुपर्ने अडान राख्दै आएका छन् । उनले गत साता इजरायलले ‘बोर्ड अफ पिस’को १५ बुँदे योजनालाई अस्वीकार गरेको र हमास निशस्त्र नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने बताएका थिए ।
यसैबीच, इजिप्ट, यूएई, कतार, साउदी अरेबिया, जोर्डन, टर्की, पाकिस्तान र इन्डोनेसियाले आइतबार संयुक्त वक्तव्य जारी गर्दै इजरायलले अमेरिकी शान्ति योजना अस्वीकार गर्दा ट्रम्पको शान्ति प्रयासमा खतरा उत्पन्न भएको बताएका छन् ।
गत वर्ष अक्टोबर १० देखि लागू भएको युद्धविराम कायम रहे पनि इजरायली सेनाले गाजामा पटक–पटक हमला गर्दै आएको छ । इजरायलले हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै खान युनिस र नुसेइरातलगायत क्षेत्रमा ‘आतंकवादी’ लक्षित हमला गरेको जनाएको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा दक्षिणी इजरायलमा भएको आक्रमणपछि गाजा युद्ध सुरु भएको थियो । उक्त आक्रमणमा करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो ।
