काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफ्नो सबैभन्दा बढी निन्दा भएको बताएका छन् ।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा सभापति थापाले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला तीन दिनमा भोगेको बताएका हुन् । पार्टीको शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा नेताहरुले सभापति थापाको आलोचना गरेका थिए ।
सभापति थापाले भने, ‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला जानेर नजानेर यो गएको तीन दिनमा निन्दा भएको छ।’
उनले यस विषयमा आफूले पत्रकार सम्मेलन गरेर नै धारणा राख्ने बताए । उनले भने, ‘अहिले बाहिर गएपछि यसबारेमा प्रश्न नसोध्नुहोला। राष्ट्रिय भेलाका विषयमा म तपाईँहरुलाई सानेपामा बोलाएर कुरा गर्नेछु ।’
उनले पछिल्लो समय राजनीतिक स्वार्थअनुसार बीपी कोइरालाको नाम र विचारलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति बढेको बताए ।
उनले भने, ‘पछिल्लो समयको परम्परा के रह्यो भने आफूलाई जहाँनिर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने प्रवृत्ति छ । म अहिले पनि ठाउँ–ठाउँमा भएका छलफलहरूमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ एकदम व्यापक आइरहेको सुनिरहेको छु । नेताहरूले यतिबेला रातारात बीपीलाई सम्झिनुभएको छ ।’
