काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई ‘हिन्दू ’ भनेको विषयलाई लिएर प्रश्न गरेका छन् ।
आइतबार देउवाले आफू हिन्दू भएको भन्दै भनेको प्रसंग उल्लेख गर्दै शाहीले हिन्दू राष्ट्र हटाइएको विषयमा जनतालाई जवाफ दिन माग गरेका हुन् ।
शाहीले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भनेका छन्, ‘यदि तपाईं हिन्दू हुनुहुन्छ भने मेरो प्रश्न, जनतालाई जवाफ दिनुहोस्– हिन्दू राष्ट्र किन हटाइयो ? कसको निर्णयमा हटाइयो ? र त्यसको जिम्मेवारी तपाईंहरूले लिने कि नलिने ?’
उनले नेपाल हजारौँ वर्ष पुरानो हिन्दू सभ्यताको देश भएको दाबी गर्दै विदेशी प्रभावमा परेर हिन्दू राष्ट्रको पहिचान हटाउने काम भएको आरोपसमेत लगाएका छन् ।
‘विदेशीको हरियो नोटको प्रभावमा परेर नेपालजस्तो हजारौँ वर्ष पुरानो हिन्दू सभ्यताको देशको हिन्दू राष्ट्रको पहिचान मास्ने काम तपाईँबाट भएको हो कि होइन ?’ शाहीले प्रश्न गरेका छन् ।
