एमाले पार्टी कसैको निजी कम्पनी होइन ओली कमरेड !

काठमाडौँ । नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार इलाममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार सामाजिक संजालमार्फत रावलले ओलीले पार्टी पुनर्गठनको बहस र आवाजलाई ‘हुल्याहाहरूको हुलदंगा’ भनेकोप्रति आपत्ति जनाएका हुन् ।

अध्यक्ष ओलीले पार्टीभित्र अनुशासनहिनता, अराजकता देखापरेको भन्दै ख्याल ठट्टामा अध्यक्ष हटाउने कुरा नगर्न चेतावनी दिएका थिए ।

यस्ता छन् ओलीलाई रावलका प्रश्न

कमरेड, हालै इलामको कार्यक्रममा यहाँले व्यक्त गर्नुभएका अभिव्यक्ति र तिनले उब्जाएका गम्भीर वैचारिक जिज्ञासाहरूले मनमा गहिरो तरङ्ग पैदा गरेका छन्। पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै सामाजिक सञ्जालको यो खुला मञ्चमार्फत आफ्ना स्पष्ट विचार राख्न बाध्य भएको छु। आशा छ, यसलाई अन्यथा नबुझि सकारात्मक रूपमा ग्रहण गरिनेछ र रिसानीको जिम्मा कमरेडकै !

१. चिया गफ कि पार्टीको जीवन्त धड्कन ?

पार्टी क्यान्टिनमा चियाको चुस्कीसँगै वैचारिक मन्थन गर्ने निष्ठावान् कार्यकर्ताहरूलाई ’आवारा’को उपमा दिइरहँदा इतिहासले प्रश्न गरिरहेको छ— हिजोका सङ्घर्षपूर्ण दिनहरूमा तिनै कार्यकर्ताहरूसँगै बसेर राजनीति र क्रान्तिका पाठ सिकाउने कमरेड स्वयं के हुनुहुन्थ्यो ? यदि विचार र नीतिको बहस गर्ने कार्यकर्ता आवारा हुन् भने, तिनलाई नेतृत्व दिने संस्था र चौतारीलाई चाहिँ के भन्ने ?

२. नेतृत्व परिवर्तनः हिजो अधिकार, आज अराजकता ?

पार्टीमा नेतृत्व रूपान्तरण र हस्तान्तरणको माग गर्नेहरूलाई सोझै ’अराजक’ देख्नु कुन माक्र्सवादी सिद्धान्तभित्र पर्छ ? हिजो आफूभन्दा अगाडिको नेतृत्व परिवर्तनको माग र सङ्घर्ष नगरीकन तपाईं आजको सर्वोच्च ठाउँमा पुग्नुभएको हो र? हिजो आफूले गर्दा ’न्यायोचित क्रान्ति’ हुने, तर आज अरूले उही माग दोहोर्याउँदा ’अराजकता’ ठहरिने यो कस्तो दोहोरो मापदण्ड हो ?

३. आन्तरिक लोकतन्त्र कि एकाधिकारवादी धम्की ?

पार्टी सुधार र रूपान्तरणको आवाज उठाउनेहरूलाई ‘पार्टी छोडेर जाऊ’ भन्ने गैर–जिम्मेवार अभिव्यक्ति किमार्थ सुहाउँदैन । हिजोका अग्रज नेताहरूले पनि तपाईंलाई यसै गरी धम्क्याएर पाखा लगाएको भए आज तपाईंको राजनीतिक अस्तित्व कहाँ हुन्थ्यो कमरेड? याद रहोस्—यो पार्टी कसैको निजी कम्पनी वा प्राइभेट लिमिटेड होइन; हजारौँ सहिदको रगत, लाखौँ कार्यकर्ताको पसिना र बलिदानले उभिएको साझा घर हो।

४. अवसरको हिसाब–किताब र आत्मसमीक्षाको प्रश्नः

अरू कोही जिम्मेवारीमा पुग्दा ‘पटक–पटक अवसर पाएको’ वा ‘मैले नै बनाइदिएको’ भनेर अवमूल्यन गर्ने, अनि कमरेडको आफ्नै हकमा भने त्यो नियम कहिल्यै लागू नहुने ? अवसर र जिम्मेवारीको यो हिसाब–किताब अरू साधारण कार्यकर्ताका लागि मात्र बनाइएको मानक हो कि नेतृत्वको आफ्नै लागिपनि लागू हुन्छ ?

यी प्रश्नहरू कुनै व्यक्ति विशेषविरुद्धको व्यक्तिगत आक्रोश वा पूर्वाग्रह होइनन् । यो त पार्टीलाई सही दिशामा डोर्याउने, आन्तरिक लोकतन्त्रलाई जीवित राख्ने र वैचारिक मन्थनलाई ऊर्जा दिने एउटा निष्ठावान् कार्यकर्ताको सचेत र जिम्मेवार आवाज हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *