बेलायत । बेलायतको संसदीय नैतिकता निगरानी निकायले शुक्रबार कट्टर दक्षिणपन्थी राजनीतिज्ञ निगेल फारेजलाई दिएको ५० लाख पाउण्ड (६७ लाख डलर) को उपहारसम्बन्धी छानबिन फेरि सुरु गरेको छ । यो छानबिन उनी उपनिर्वाचनमा सांसदका रूपमा पुनः निर्वाचित भएको केही घण्टापछि सुरु भएको हो ।
फारेजले पूर्वी इङल्याण्डको आफ्नो संसदीय क्षेत्र ‘क्लाक्टन’ सजिलै फिर्ता लिन सफल भएका छन् । उनले त्यहाँबाट सन् २०२४ मा पहिलो पटक जितेका थिए । प्रमुख दलहरूले निर्वाचन प्रक्रियालाई नाटक भनेर बहिष्कार गरेको यो प्रतिस्पर्धामा उनले ६३ प्रतिशत मत पाएका छन् ।
उनका मुख्य प्रतिद्वन्द्वी काउन्ट बिनफेसले करिब २७ प्रतिशत मत प्राप्त गरेका छन् र यो उनलाई अपेक्षाभन्दा बढी मत प्राप्त भएको विश्लेषकहरूले बताएका छन् ।
आप्रवासनविरोधी रिफर्म युकेका नेता फारेजले गत महिना आफ्नो वित्तसम्बन्धी छानबिनका कारण वेस्टमिन्स्टरको सिटबाट राजीनामा दिएपछि बिहीबारको मतदान भएको थियो । मतदानपछि छानबिन स्थगित भएको थियो।
उनको उपनिर्वाचन जितसँगै संसदीय मापदण्ड आयुक्त ड्यानियल ग्रीनबर्गले छानबिन स्वतः पुनः सुरु भएको बताएका छन् ।
निगरानी निकायले फारेज र रिफर्मका उपनेता रिचार्ड टाइसले वित्तीय उपहार घोषणा नगरेको आरोपको छानबिन गरिरहेको छ। उनीहरूले कुनै गलत काम नगरेको दाबी गरेका छन्।
संसदीय छानबिन थाइल्यान्डमा बस्ने क्रिप्टोकरेन्सी अर्बपति क्रिस्टोफर हार्बोर्नले फारेजलाई दिएको ५० लाख पाउण्डको चन्दामा केन्द्रित छ।
फारेजले आफ्ना लामो समयदेखि सहयोगी रहेका र दोषी ठहरिएका आरोपित जर्ज कोट्रेलले दिएको सहयोगका कारण पनि छानबिनको सामना गर्नुपर्ने हुनसक्छ ।
लन्डन प्रहरीले सन् २०२४ को निर्वाचनअघि रिफर्मलाई दिइएका चन्दाबारे गत वर्ष छानबिन सुरु भएको पुष्टि गरेको छ ।
उनले जारी विज्ञप्तिमा भनेका छन्, “यो विश्वासयोग्य, व्यापक जित हो। सन् २०२४ को आमनिर्वाचनमा हामीले पाएकोभन्दा बढी मत पाएका छौँ।”
हाँस्य कलाकार जोन हार्वेको वैकल्पिक व्यक्तित्व बिनफेसले अपेक्षाभन्दा बढी प्रदर्शन गर्दै नौ हजार ४५५ मत पाएका छन् । दुई वर्षअघिको झन्डै ५९ प्रतिशतको तुलनामा यसपटक मतदान प्रतिशत ४४ मा झरेको थियो। उपनिर्वाचनमा सामान्यतया मतदान कम हुन्छ । विश्लेषकहरूले फारेजको जितको अपेक्षा गरेका थिए ।
