पेरिस । युरोपेली सङ्घ (इयु) का औषधि नियामकहरूले मानिस वा जनावरको शरीरमा टाँसिएर रगत चुस्ने परजीवी किराले सार्ने लाइम रोगविरुद्ध विकास भइरहेको प्रयोगात्मक खोपको अध्ययन अघि बढाउन स्वीकृति दिएका छन्।
खोप विकास गरिरहेका अमेरिकी कम्पनी फाइजर र फ्रान्सेली–स्विस कम्पनी वाल्नेभाले शुक्रबार यसको जानकारी दिएका हुन्।
दुवै कम्पनीका अनुसार पाँच वर्ष वा सोभन्दा माथिका मानिसका लागि विकास गरिएको उक्त खोपले परीक्षणका क्रममा करिब ७० प्रतिशत प्रभावकारिता देखाएको छ। लाइम रोगविरुद्ध हालसम्म कुनै स्वीकृत खोप उपलब्ध छैन।
यस वर्षको सुरुआतमा परीक्षणका केही नतिजा अपेक्षा अनुसार उत्साहजनक नआए पनि युरोपेली औषधि नियामक निकायले खोपको स्वीकृतिका लागि कम्पनीहरूले दिएको आवेदन स्वीकार गरेको दुवै कम्पनीले बताएका छन्। प्रयोगात्मक खोपलाई हाल पीएफ–०७३०७४०५ नाम दिइएको छ।
लाइम रोग सङ्क्रमित परजीवी किराले टोकेपछि मानिसमा सर्ने गर्छ। यसबाट छालामा रातो दाग देखिने, ज्वरो आउने तथा रुघाखोकीजस्ता लक्षण देखिन सक्छन्। केही अवस्थामा यसले स्नायु प्रणालीमा समेत असर पुर्याउन सक्छ। रोग विरलै घातक भए पनि दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरूले बताएका छन्।
फाइजरकी प्रमुख खोप अधिकारी एनालिजा एन्डरसनले खोपले लाइम रोगबाट जोगिन महत्त्वपूर्ण नयाँ उपाय उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गरेकी छन्।
सन् २०२२ मा गरिएको एक अध्ययनले विश्वको कुल जनसङ्ख्याको १४ प्रतिशतभन्दा बढीमा लाइम रोगसँग सम्बन्धित सङ्क्रमण देखिएको अनुमान गरेको थियो। जलवायु परिवर्तनका कारण लामो समयसम्म गर्मी र सुक्खा बढ्दै जाँदा रोग सार्ने परजीवी किराको विस्तार र सङ्क्रमणको जोखिमसमेत बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।
युरोपमा लाइम रोगको जोखिम रहेका क्षेत्रमा २० करोडभन्दा बढी मानिस बसोबास गर्ने भएकाले खोप विकासलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको वाल्नेभाका प्रमुख कार्यकारी थोमस लिङ्गेलब्याकले बताएका छन्।
खोपको अध्ययनलाई स्वीकृति दिइएको खबरपछि शुक्रबार पेरिसको सेयर बजारमा वाल्नेभाको सेयर मूल्य प्रारम्भिक कारोबारमा करिब १६ प्रतिशतले बढेको थियो।
