म्याग्दी । रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकको मुख्य चुनौती बनेको छ । उत्तरी म्याग्दीका रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम चीन र भारतलाई जोड्ने सडक पनि हो ।
कालीगण्डकी नदीको तिरबाट भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो जाने जोखिम बढेपछि बीचमा पर्ने सडकमा यातायात सञ्चालन गर्न जोखिम बन्दै गएको स्थानीय बताउछन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सिरुबारी पहिरोले बर्खायाममा बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या हुँदै आएको बताए ।
“सामान्य वर्षा हुने बित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे हुँदा जोखिम मोलेर सवारीसाधन वारपार गराउनुपर्ने अवस्था छ”, उनले भने, “सवारीसाधन गुडिरहेको र यात्रु हिडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने, चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गर्नुपर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ ।”
अध्यक्ष पुनले सिरुबारी पहिरो नियन्त्रण र यातायात व्यवस्थापनका लागि दुई वटा विकल्प अघि सारिएको बताए । सिरुबारीबाट अन्नपूर्ण गाउँपालिकातर्फ दुई वटा बेलिब्रिज जडान गरेर अस्थायी रूपमा यातायात सञ्चालन गर्न सकिने बताउँदै उनले दीर्घकालीन समाधानका लागि पहिरो नियन्त्रणको आयोजना सञ्चालन गर्नुपर्ने उनले उल्लेख गरे ।
“सडकको तल कालीगण्डकी नदी छ भने करिब ८०० मिटरमाथि २०० मिटर चौडाइका पहिरो छन् । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तीमा पनि जोखिम बढाएको छ । कोरला नाका हुँदै आवतजावत गर्ने मालबाहक कन्टेनरले पनि यही सडक प्रयोग गर्छन्”, अध्यक्ष पुनले भने ।
मुस्ताङ जानेआउने यात्रुबाहक बस र अन्य सवारीसाधनको सिरुबारी पहिरो क्षेत्रमा जाम हुँदा आवागमनमा थप सास्ती हुने गरेको उनको भनाइ छ । गाडी फस्ने र साँघुरो भएकाले जाम हुने समस्या छ । साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिँदैन । उनका अनुसार वर्खायाम सुरु भएयता यस वर्ष बेनी-जोमसोम सडकअन्तर्गत सबैभन्दा बढी सिरुबारीमा अवरुद्ध भएको छ ।
बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयका प्रमुख तेजस्वी शर्माले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको जानकारी दिए । पछिल्ला तीन वर्षका वर्खायामभरि पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्दै आइएको जनाउँदै उनले दुई हप्ताअघि सिरुबारीमा खसेको पहिरोले सडक विभागको एउटा डोजरमा क्षति पुगेको बताए ।
आयोजना कार्यालयले गत हिउँदा सिरुबारी पहिरोको अस्थायी रोकथामका लागि ‘बेन्चिङ’ (भीर/सडक निर्माण गर्दा पहिरो नजाओस् र डिल नभासियोस् भनेर माटोलाई सिँढी आकारमा काट्ने) विधि अपनाएको थियो । यसपालि ‘बेन्चिङ’ गरेकोभन्दा फरक ठाउँ खोल्सा क्षेत्रमा पहिरो गएको छ । असार अन्तिम साता मुस्ताङबाट फर्कने क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिरुबारी पहिरो अवलोकन गर्दै चालु आर्थिक वर्षभित्र रोकथामको काम सुरु गर्न बजेटको व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका थिए ।
यही साउन २ गते गृह जिल्ला आउनुभएका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले पनि अन्तरदेशीय व्यापारिक मार्गमा पर्ने सिरुबारी पहिरोको दीर्घकालीन समाधानका लागि सरकारले काम अघि बढाइसकेको बताए ।
आयोजना प्रमुख शर्माले भूगर्वविद्हरूको टोलीबाट पहिरोको अनुसन्धान गरी रोकथामको आयोजना सञ्चालन गरिने बताए । गलेश्वर, चमेरे, महभिर, भीरकाटे, बैसरी, गुइठेभिर, लामभिक्ता, लाटाखोला क्षेत्रमा पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने गत आर्थिक वर्षमा सम्झौता भएका आयोजनाको निर्माण बर्खायाममा पनि निरन्तरता दिइएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी जेमकुमार बैठाले जानकारी दिए ।
