निर्वाचन आयोगले कांग्रेसको विधान र प्रक्रिया बेवास्ता गर्‍यो : पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट गठित कांग्रेसको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएको विषयमा आपत्ति जनाएका छन् । उनले आयोगले पार्टीको विधान र आन्तरिक प्रक्रियालाई बेवास्ता गर्दै निर्णय गरेको आरोप लगाए ।

शुक्रबार काठमाडौँमा कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले विशेष महाधिवेशनको प्रक्रियामाथि नै प्रश्न उठाए । उनका अनुसार विधानले तोकेको प्रक्रिया पूरा नगरी बोलाइएको विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई आयोगले मान्यता दिनु गलत हो ।

‘विधानविपरीत गरिएको विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई निर्वाचन आयोगका दुई आयुक्तले आँखामा कालो पट्टी बाँधेर सदर गरिदिए,’ खड्काले आरोप लगाए ।

उनले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन माग गर्न ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन आवश्यक पर्ने र त्यसपछि केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गर्नुपर्ने बताए । तर, महामन्त्री गगन थापाले विधानमा उल्लेखित प्रक्रिया मिचेर आफैँ विशेष महाधिवेशन आह्वान गरेको उनको दाबी थियो ।

‘महामन्त्रीले विधानविपरीत सिधै अधिवेशन बोलाएका हुन् । यो प्रक्रिया हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन,’ खड्काले भने ।

विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै खड्काले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे । विधान र प्रक्रियाविपरीत गरिएका निर्णय लामो समय टिक्न नसक्ने उनको भनाइ थियो ।

देउवा–शेखर समूहको भेलालाई सम्बोधन गर्दै खड्काले कांग्रेसमा विधि, विधान र पद्धतिको संरक्षण आवश्यक रहेको बताए । वर्तमान नेतृत्वले पार्टीको स्थापित प्रक्रिया कमजोर बनाएको आरोप लगाउँदै उनले कार्यकर्तालाई पार्टीभित्रको घटनाक्रमप्रति सचेत रहन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *