काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति गगन थापाले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गराउनु ठूलो गल्ती भएको टिप्पणी गरेका छन्।
शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले विशेष महाधिवेशनलाई आफूहरूले वैधानिक रूपमा स्वीकार गर्न नसकेको बताएका हुन् । उनले उक्त महाधिवेशन अराजक ढंगले सम्पन्न भएको दाबी गर्दै त्यसबाट निर्वाचित थापालाई सभापति भन्नसमेत आफूलाई सहज नलागेको बताए ।
सिटौलाले थापालाई व्यक्तिगत पूर्वाग्रहका आधारमा नभई आफ्नो पक्षको राजनीतिक धारणा प्रस्तुत गरेको स्पष्ट पारे । उनले जीवनमा गल्ती हुनु स्वाभाविक भए पनि त्यसलाई स्वीकार गरेर सच्याउन सक्नु नै नेतृत्वको महानता भएको बताए ।
उनले थापालाई विशेष महाधिवेशनबाट उत्पन्न परिस्थितिलाई पुनर्विचार गर्न सुझाव दिँदै गल्ती सच्याउने बाटो आफैंले खोज्नुपर्ने बताए । सर्वोच्च अदालतले समेत त्यसका लागि बाटो खुला गरिदिएको उनको दाबी थियो ।
“हठ र अहंकारले कहीँ पनि पुगिँदैन । मेरो सुझाव छ, गल्ती सच्याउनुस्,” सिटौलाले भने ।
सिटौलाले पार्टीभित्रको विवाद समाधानका लागि कसैसँग हारगुहार गर्नुभन्दा आफ्नै अन्तरआत्मालाई प्रश्न गर्न थापालाई आग्रह गरे । उनले विशेष महाधिवेशनमार्फत तत्कालीन सभापति शेरबहादुर देउवालाई पार्टीबाट हटाउने निर्णयबारे समेत पुनर्विचार गर्नुपर्ने धारणा राखे ।
उनले विशेष महाधिवेशनबाट चयन भएका अन्य पदाधिकारीबारे भने आफूले थप टिप्पणी गर्न आवश्यक नरहेको बताए।
