काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्नु अहिले आफ्नो प्रमुख दायित्व रहेको बताएका छन् । उनले कांग्रेस एकताबद्ध भएर अघि बढे कुनै पनि शक्तिले पार्टीलाई पराजित गर्न नसक्ने दाबी गरे ।
शुक्रबारदेखि सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीमा उत्साह र एकता कायम गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेसको भविष्य पार्टीभित्रको एकता र सहकार्यमा निर्भर रहेको बताए ।
कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वप्रति पूर्ण समर्थन जनाउँदै देउवाकै नेतृत्वमा पार्टी अघि बढ्ने बताए । उनले देउवालाई प्रभावशाली र भाग्यमानी नेता भन्दै उनको उपस्थितिले राष्ट्रिय भेलालाई थप सफल बनाउने विश्वास व्यक्त गरे ।
बिपी कोइरालासँगको सम्बन्ध र बनारसका पुराना स्मरण सुनाउँदै उनले बिपीको निर्देशनमा आफूले देउवालाई बनारस घुमाएको प्रसंग पनि उल्लेख गरे । त्यस क्रममा देउवाले चलचित्रको विश्लेषण गर्ने शैलीबाट आफू प्रभावित भएको उनले बताए ।
कोइरालाले लोकतन्त्र स्थापनापछि तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको आग्रहमा लण्डनबाट नेपाल फर्किएलगत्तै देउवा प्रधानमन्त्री बनेको स्मरण गरे । उनले भने, “शेरबहादुरजी नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अगाडि बढ्छ।”
राष्ट्रिय भेलामा देशभरबाट सहभागी भएका कांग्रेस कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले कार्यक्रम व्यवस्थापनमा देखिएका कमजोरीप्रति क्षमासमेत मागे । उनले पार्टीभित्रको एकता, उत्साह र सहकार्यलाई बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
