कहाँबाट आयो त्यतिका सम्पत्ति नष्ट गर्ने उन्माद र उत्तेजना ?

डा. जीवन क्षेत्री

एक दिनको दंगामा एउटै शहरमा पौने अर्बको क्षति । दंगापछि गुम्ने आर्थिक गतिविधि जोड्ने हो भने अर्बौँको क्षति । आखिर कहाँबाट आएको थियो यो सम्पत्ति अनि यो नाश हुँदा के हुन्छ ? यो गरीब किसानदेखि मझौला र धनी उद्यमीसम्मले रगत–पसिना बगाएर जोडेको सम्पत्ति थियो । मान्छेले गाँस काटीकाटी सन्तानको शिक्षाका लागि भनेर जोडेको सम्पत्ति थियो । कसैले खाडीमा गएर मिर्गौला फेल हुने गरी मरुभूमिमा गरेको श्रमले जोडेको सम्पत्ति थियो । पुस्तौंको मेहनतपछि पहिलोपल्ट सुरक्षित घर बनाउन भनेर जोडेको सम्पत्ति थियो ।

अब हुन्छ के ? मानिसले गर्ने अर्ब बराबरको खर्च र दशौं अर्ब बराबरको आत्मविश्वास कटौती हुन्छ । पोषण र शिक्षाको खर्चमा सबैभन्दा धेरै कटौती हुन्छ । उद्यम गरेर देशमै टिकेका युवा विदेशिन्छन् । लगानी गरौं भनेर सोचेकाले त्यो विकल्प बन्द गर्छन् । शहर झन् कंगाल हुन्छ । बेरोजगारी बढ्छ, गरिबी बढ्छ ।

यो हालत आउनबाट रोक्नमा राज्य चुकेकै हो । उसको लाख आलोचना गरे पनि कमै हुन्छ । तर यो समय गोलबजारका स्थानीयले पनि एकपल्ट आफैंलाई हेर्ने हो । कहाँबाट आयो त्यतिका सम्पत्ति नष्ट गर्ने उन्माद र उत्तेजना ? कति थिए शहर जलाउनेहरु ? केही दर्जन वा सय ? अरु दशौं हजार वा लाखौं तिनलाई रोक्न किन निस्केनन् ? वर्षौंदेखि विभाजन र घृणाको खेल चलिरहँदा कसैले किन त्यसमा हस्तक्षेप गरेन ?

कसैले उत्तेजित पार्यो भन्दैमा किन युवाहरु अर्काको सम्पत्ति जलाउन निस्के ? तिनको त्यो मनोदशा कसरी बन्यो ? उत्तेजना र घृणा सडकमा त्यसदिन छताछुल्ल भयो तर सञ्जालमा त वर्षौंदेखि थियो । काठमाडौं वा चितवन बस्नेले कसैलाई नचिन्न सक्छ तर गोलबजारमा घृणा र साम्प्रदायिकता फैलाउने ‘इन्फ्लुएन्सर’हरुलाई नचिन्ने कोही थिएन । तिनका हिंसा आह्वान गर्ने पोस्टमा कसले लाइक र कमेन्ट गर्यो भन्नेसम्म स्थानीयलाई थाहा थियो ।

उसो भए त्यत्रो समाज वर्षभरि के गरेर बस्यो ? यो प्रश्न अहिले झनै महत्वपूर्ण बनेको छ । कारणः यो साउनको साम्प्रदायिक हिंसा नेपालका लागि न पहिलो थियो, न अन्तिम नै हुन्छ । जबसम्म नागरिकहरुलाई नाजीहरुले झैं दर्जामा बाँडेर त्यसै अनुसार व्यवहार गर्ने सत्ता भारतमा रहन्छ, तबसम्म दक्षिणतिरबाट विभाजन र घृणाको नदी सीमावार बगि नै रहनेछ । त्यससित जुध्ने हो भने वर्षभरि त्यो काममा लागिरहनुको विकल्प छैन । यसपालि देखिएको विभाजन र घृणाको घाउ पुर्नुको विकल्प छैन । सहिष्णुतासँगै न्याय र चेतनालाई स्थापित गर्नुको विकल्प छैन । हैन भने, अर्कोपल्ट विनाश दशौं वा सयौं गुणाले बढ्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *