नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री वाग्ले

दमौली । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य नयाँ ठेक्काबाट हुने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा बुधबार आयोजित भेटघाटमा उनले घुमाउने पुल निर्माणको ठेक्का तोडिसकिएकाले अब नयाँ ठेक्कामार्फत पुलको काम निर्माण हुने उल्लेख गरे ।

विगतमा सांसद हुँदा आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुलका बारेमा आफूले धेरै चासो राखेको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले संसद्मा पनि त्यसबारेमा पटक–पटक बोलेको बताए ।

कहिले बाढी आएर पुलमा क्षति पुर्याएको, कहिले डिजाइन परिवर्तन गर भनेर दबाब दिने जस्ता कारणबाट पुल निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै उनले उक्त पुलको ठेक्का तोड्ने काम भएकाले अब नयाँ ठेक्कामार्फत पुल निर्माण हुने बताए ।

पूर्वाधार विकासमन्त्रीलाई भेटेरै घुमाउने पुल जसरी पनि सुरु गर्नु भनेर भनिसकेको बताउँदै अर्थमन्त्री वाग्लेले भने, ‘खरिद ऐन नै संशोधन गरी विकास निर्माणलाई गुणस्तरीय बनाउन प्रयास गरेका छौँ ।’

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाको समग्र विकासका लागि अत्यावश्यक बजेट विनियोजनका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । त्यसक्रममा उनले पूर्वाधार निर्माण, सडक सञ्जाल विस्तार तथा पर्यटन क्षेत्रको प्रवद्र्धनलगायत स्थानीय तहका प्राथमिकतामा विषयमा ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *