कास्की । केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख पर्यटकीय गन्तव्य पुग्ने सडक अवरुद्ध हुँदा स्थानीयवासी र पर्यटक समस्यामा परेका छन् ।
पहिराले नयाँपुल–घान्द्रुक सडकखण्ड अवरुद्ध बनेको छ । यस सडकखण्डअन्तर्गत अन्नपूर्ण–१० मा यही साउन २१ गते राति सिवौँ खोलाले सडक बगाउँदा घान्द्रुकसँगको सिधा यातायात सञ्जाल टुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।
“खोलाले सडकको बेस सबै बगाएको छ । अप्ठ्यारो भूगोलका कारणले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । जिल्ला प्रशासनसँग छलफलमै छौँ, कसरी सडक सञ्चालन गर्ने भनेर प्राविधिक अध्ययन भइरहेको छ,” गुरुङले भने ।
बाटो अवरुद्ध भएपछि घान्द्रुक आउजाउ गर्ने स्थानीयवासी र पर्यटकलाई समस्या परेको छ । सडक अवरुद्ध भएको स्थानसम्म पोखराबाट जाने र त्यहाँ झरेपछि झोलुङ्गे पुलबाट नदी पार गरेर अर्को गाडीमा घान्द्रुक जाने अस्थायी प्रबन्ध गरिएको प्रवक्ता गुरुङले बताए । घान्द्रुक अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार समेत हो ।
यसैगरी, कास्कीको अर्को पर्यटकीय गन्तव्य मादी गाउँपालिका–१ सिक्लेस जाने सडक भने तीन दिनपछि सञ्चालनमा आएको छ । यही साउन २० गते राति काहुँखोला–सिक्लेस सडकखण्डमा पर्ने खिलाङ र चिप्लीको बीचमा ठूलो पहिरो जाँदा सडक अवरुद्ध भएकामा आज साँझदेखि बाटो सञ्चालन भएको मादी–१ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता देवीजङ्ग गुरुङले जानकारी दिए ।
“जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय पोखरासँगको समन्वयमा दुई दिनको प्रयासपछि सडक खुलेको छ,” वडाध्यक्ष गुरुङले भने ।
सडक डिभिजन कार्यालयले पोखराको काहुँखोलादेखी सिक्लेसम्म अहिले सडक स्तरोन्नतिको काम समेत गर्दै आएको छ । सडक पहिराले अवरुद्ध भएपछि स्थानीयवासी र पर्यटक समस्यामा परेका थिए ।
सिक्लेस ग्रामीण पर्यटनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रख्यात छ । बर्खायामका कारणले सिक्लेसमा हाल पर्यटक आगमन कम रहे पनि सार्वजनिक बिदामा भने आन्तरिक पर्यटक उल्लेख्य पुग्ने गरेका छन् ।
