काठमाडौं । विभिन्न राजनीतिक दलहरूको सहभागितामा ‘अग्रगामी मोर्चा’ घोषणा गरिएको छ । शनिबार आयोजित कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रमुख नेता जनार्दन शर्माले मोर्चाको अवधारणापत्र प्रस्तुत गर्दै समानता, स्वतन्त्रता, सुशासन, संघीयता, सामाजिक न्याय, समावेशिता, धर्मनिरपेक्षता तथा आर्थिक विकास र सामाजिक–आर्थिक रूपान्तरणलाई प्राथमिकता दिने राजनीतिक शक्तिहरूको साझा मोर्चाका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताए ।
अवधारणापत्र प्रस्तुत गर्दै शर्माले शोषित, उत्पीडित तथा बहिष्करणमा पारिएका सीमान्तकृत समुदायलाई एकताबद्ध गरी राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका साथै जातीय, लैङ्गिक र वर्गीय मुक्तिका लागि निरन्तर संघर्ष गर्ने मोर्चाको उद्देश्य रहेको बताए ।
उनले भने, ‘अग्रगामी मोर्चा समानता, स्वतन्त्रता, सुशासन, संघीयता, सामाजिक न्याय, समावेशिता, धर्मनिरपेक्षता तथा आर्थिक विकास र समृद्धिका साथै सामाजिक–आर्थिक रूपान्तरणलाई प्राथमिकता दिने राजनीतिक शक्तिहरूको एउटा साझा मोर्चा हो ।’
उनले नेपालको बहुभाषिक, बहुराष्ट्रिय, बहुजातीय, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधतालाई राष्ट्रको शक्तिका रूपमा स्वीकार गर्ने बताए । विविधताबीच आपसी सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ गर्दै ‘एकताभित्र विविधता’को अवधारणालाई अघि बढाउने उनको भनाइ छ ।
उनले भने, ‘नेपालको बहुभाषिक, बहुराष्ट्रिय, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक विविधतालाई राष्ट्रको शक्ति मान्दै आपसी सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन विविधतालाई एकताभित्र विविधताको सूत्रमा बाँध्ने हाम्रो उद्देश्य हो।’
