काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निर्णयपछि आफूहरू न्यायिक प्रक्रियामा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उपसभापति शर्माले सर्वोच्च अदालतको संयुक्त इजलासले यसअघि रिट खारेज गर्दै विषयको न्यायिक निरूपण गरिसकेको भए पनि पुनः परीक्षणले विशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनीतिक सत्य’ लाई अझ स्पष्ट र फराकिलो ढंगले उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर टुंग्याइसकेको बिषयमा पुनरावलोकनमा नगएको भएपनि लामो बहस पश्चात न्यायिक निरुपण भइसकेकै थियो । यद्यपि पुनः परीक्षणले विशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्य’लाई थप फराकिलो ढंगले उजागर गर्न पक्कै मद्दत पुर्याउनेछ । संयम र परिपक्वतासाथ नेपाली काँग्रेसको विशेष महाधिवेशनको सम्पूर्ण तथ्यलाई सम्मानित न्यायालय समक्ष पुनः प्रस्तुत गर्न हामी विल्कुल स्पष्ट, खुला र तत्पर छौं ।’
बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति हुने आदेश दिएको छ ।
कांग्रेसका असन्तुष्ट समूहले यसअघिको फैसला पुनरावलोकन हुनुपर्ने माग राखी निवेदन दिएको थियो । यसअघि सर्वोच्च अदालतले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सही ठहर गर्ने फैसला गरेको थियो ।
