शेरधन राई ।
यही साउन महिनाको ९ गते नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको बीचमा प्रदेश सरकार सञ्चालन र नेतृत्व गर्ने सवालमा तीनबुँदे सहमति भएको कुरा सबैमा सर्वविदितै छ । उक्त सहमतिकाबारेमा आफ्ना ब्यक्तिगत मतहरु फरक हुन सक्दछन् तर त्यसलाई अक्षरशः कार्यन्वयन गर्नु गराउनु दुबै पार्टी र दलको अनिवार्य कर्तव्य बनेको छ । त्यही क्रममा कोशी प्रदेशमा उक्त सहमति कार्यन्वयन गर्नका लागि म कोशी प्रदेश पार्टी इञ्चार्ज, कोशी प्रदेश कमिटी र प्रदेश सरकारका मुख्यमन्त्रीलाई संस्थागत रुपमा केन्द्रीय अध्यक्षको हैसियतमा पुरानै अभ्यास बमोजिम (जसरी हामी पहिलो संस्थापक मुख्यमन्त्री भएका थियौ, जसरी हामी हटेका थियौं र अरु साथीहरु हुनुभो अनि जसरी अहिलेका मुख्यमन्त्री बन्नुभो त्यसरी नै) प्रष्ट निर्देशन गर्नुभएको सन्दर्भमा बकाईका इञ्चार्जको हैसियतमा आफ्नो कार्यक्षेत्रमा केहीदिनदेखि हामी अन्य जिम्मेवार कमरेडहरु सहित आन्तरिक छलफलमा विधिपूर्वक जुटेको कुरा सत्य हो । उक्त निर्देशनलाई कार्यन्वयन गर्ने कुरामा सानो गाँठो परेको कुरा पनि साँचो हो, कसले किन के कारणले गाँठो परेको थियो त्यो बाहिर भन्ने विषय थिएन र होइन तर नेकपा (एमाले) पंक्ति, प्रदेश सभा सदस्यहरु र आमलाई थाहा भइसकेकै पनि हुनुपर्दछ ।
जे होस् एकपटक पार्टी अध्यक्षलाई भेटेर आफ्नो कुरा राखेर जे निर्देशन हुन्छ त्यही बमोजिम गाँठो फुकाउने जिम्मा लिन्छु भनेर मुख्यमन्त्री पार्टी अध्यक्षलाई भेट्न जानुभएको सत्य हो । तर पार्टी अध्यक्षले इञ्चार्ज र प्रदेश अध्यक्ष सचिवलाई गुण्डु बोलाएको भन्ने कुरा गलत हो । हामीलाई बोलाइएको होइन । अरु कामले अध्यक्ष र सचिव काठमाडौँ जाँदा भेटभएको बसेको र उहाँहरुलाई साँची राखेर कुरा भएको सत्य हो ।
जेहोस्, हिजो अध्यक्ष कमरेडसँगको भेट र उहाँको निर्देशन बमोजिम त्यसको अक्षरशः कार्यन्वयन गरेर मुख्यमन्त्रीले गाँठो फुकाउनु हुनेछ । पार्टीले त्यही अपेक्षा गरेको छ ।
यो सत्य तथ्य र वास्तिवकता विपरीत यसबीचमा मुख्यमन्त्री फेर्ने कुरा प्रदेश इञ्चार्जको निजी कुरा र चाहना हो, भन्नै नमिल्ने र नसुहाउने कुरा हो, काठमाडौँ नगएर हस्ताक्षर अभियान चलायो भन्ने जस्तादेखि अनेकन वाइयात हल्ला र अफवाहहरु फैलाउने काम र गैरजिम्मेवार ढंगले दिइएका अभिव्यक्ति र लेखिएका, लेखाइएका कुराहरुप्रति खेद व्यक्त गर्दै दुःख ब्यक्त गर्न चाहन्छु । यी सबै सफेद झुट र गलत अफवाहहरु हुन, गैरजिम्मेवार ढंगले गरिएका कुराहरु हुन् । यस्ता भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।
म यतिमात्र फेरि एकपटक भन्न चाहन्छु म पार्टीको इमान्दार कार्यकर्ता र सिपाही हुँ, मैले पार्टी नीतिको, नेतृत्वको, विधि र पद्वतिको उल्लंघन गर्न जानेको छैन, व्यक्तिगत निजी चाहना खेल्न र रमाउन सिकेको छैन, आफ्नो हैसियत र मर्यादा बिर्सिएर गैरजिम्मेवार ढंगले बोल्न, लेख्न र चल्न जानेको छैन, पार्टीले दिएको जुनसुकै अवसर र जिम्मेवारीमा चुक्न सिकेको छैन, नाजायत गलत कुरा र कार्यमा चुक्न वा झुक्न जानेको छैन, इमान र निष्ठामा चुक्न जानेको छैन ।
राजनीतिक जीवनको यी मेरा अमूल्य सम्पतिहरु हुन्, यी मेरा असली विशेषताहरु हुन्, यी मेरा असली पहिचान र परिचयहरु हुन् । म यसैमा गर्व गर्छु, यसैले मलाई हरक्षण खुसी र आनन्दित पनि बनाइरहन्छ । यिनै सम्पति, विशेषता र परिचयहरुले मलाई सदाबहार रुपमा उर्जाशील र उत्साहित बनाइरहन्छ । एकपटक सबैलाई भन्न चाहन्छु ।
र अन्तमा म एउटा तथ्यलाई पनि यहाँ राख्न सान्दर्भिक ठान्दछु, आफू संस्थापक पहिलो मुख्यमन्त्री भएको बेला पार्टी नेतृत्वले बोलाएर छोडनुस् अर्का नेतालाई हस्तान्तरण गर्नुस् भन्ने निर्देशन हुने वित्तिक्कै अन्यथा केहीपनि महसु िनगरी एउटा इमान्दार सिपाहीको नाताले तत्क्षणमा हाँसीखुसी मेरा अर्का नेता जो मसँग दलको निर्वाचनमा पराजित हुनुभएको थियो, उहाँलाई आफैंले सर्बसम्मत दलको नेता बनाएर मुख्यमन्त्रीको रुपमा जिम्मेवारी हस्तान्तरण गरेको तथ्यलाई पनि एकपटक सबैमा स्मरण गराउँदै भ्रम र वास्तविकता बुझेर चल्न, बस्न र पार्टीका नीति र निर्देशनहरुलाई कार्यन्वयन गर्न र कुनैपनि अफवाहपूर्ण भ्रममा नपर्न पार्टी पंक्ति र सबैमा आव्हान पनि गर्दछु ।
