बीबीसी । इरानले हर्मुज जलडमरूमध्यमार्फत जहाज सञ्चालनका लागि नयाँ जलमार्गबारे ओमानसँग सहमति भएको र सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ। यद्यपि, अमेरिकी नौसैनिक नाकाबन्दी कायम रहेकाले जलडमरूमध्य पूर्ण रूपमा सुरक्षित हुने ग्यारेन्टी भने नरहेको इरानको भनाइ छ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएईले नयाँ मार्गको भौगोलिक समन्वयमा ओमानसँग सहमति भइसकेको जानकारी दिँदै सम्झौताको थप विवरण भने सार्वजनिक गरेनन्।
फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले विश्वको करिब २० प्रतिशत कच्चा तेल ओसारपसार हुने हर्मुज जलडमरूमध्यलाई अधिकांश समय अवरुद्ध गर्दै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार जलडमरूमध्य ‘छिट्टै नखुले’ इरानले ‘कडा प्रहार’ सामना गर्नुपर्ने चेतावनी दिएका थिए। त्यसअघि अमेरिकी अधिकारीहरूले यही साताभित्र जहाज आवागमन पुनः सुरु हुने सम्भावनाबारे वार्ता अघि बढेको बताएका थिए। तर इरानले आफू अमेरिकासँग कुनै वार्ता नगरेको र गर्ने योजना पनि नरहेको दोहोर्याएको छ।
इरानको सरकारी समाचार संस्था इरनाका अनुसार बाघाएईले अमेरिकी नौसैनिक नाकाबन्दी तथा इरानविरुद्धका आक्रामक गतिविधि जारी रहेकाले हर्मुज जलडमरूमध्यको सुरक्षा अवस्था अझै अस्थिर रहेको बताएका छन्।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीका अनुसार नयाँ जलमार्ग अस्थायी हुनेछ र दुईदेखि चार महिनासम्म सञ्चालनमा रहन सक्नेछ। यद्यपि, उनले मार्गको विस्तृत विवरण खुलाएका छैनन्।
युद्ध सुरु भएयता हर्मुज जलडमरूमध्यमार्फत जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ। इरानले सबै जहाजले पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ भने आदेश उल्लङ्घन गर्ने केही जहाजमाथि कारबाही गरेको दाबी गरेको छ।
तेहरान र वासिङ्टनबीचको प्रमुख विवादमध्ये जलडमरूमध्य प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको प्रस्ताव पनि एक हो। रोयटर्सका अनुसार इरानले मालसामानको मूल्यको ५ देखि ७ प्रतिशतसम्म शुल्क प्रस्ताव गरेको छ। ओमानले करिब ३ प्रतिशत शुल्कको विकल्पमा छलफल गरिरहेको छ भने अमेरिकाले कुनै शुल्क नलाग्ने अडान राखेको छ।
प्रस्तावित सम्झौताअनुसार हर्मुज जलडमरूमध्यमार्फत फारसी खाडी प्रवेश गर्ने जहाजमाथि इरानले निगरानी तथा नियन्त्रण गर्ने व्यवस्था रहने रोयटर्सले जनाएको छ।
गत जुनमा इरान र अमेरिकाबीच युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने तथा ६० दिनभित्र युद्ध अन्त्य गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएपनि केही दिनमै दुवै पक्षबीच पुनः आक्रमण सुरु भएपछि उक्त सहमति कार्यान्वयन हुन सकेको थिएन।
हाल अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी जारी राखेको छ भने यमनका इरान समर्थित हुथी विद्रोहीहरूले जुलाई २० देखि रेडसीस्थित साउदी अरेबियाका बन्दरगाहमा पनि नाकाबन्दी कायम राखेका छन्।
