सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन। चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ। झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जङ्गली हात्ती देखिन सुरु गरेको हो।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ। केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको यस हात्तीलाई त्यहाँ आउने अन्य जङ्गली हात्तीबाट लखेटिएको जनाइएको छ।

अहिले सौराहास्थित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको उनले बताए। यस हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख दिएको छैन।

संरक्षण अधिकृत पौडेलका अनुसार यस्ता हात्ती बथानबाट लखेटिएर एक्लिने गर्दछन्। बथानको नेतृत्व पोथी हात्तीले सम्हाल्ने गर्दछ। अल्लारे उमेरका यस्ता भाले हात्तीले उपद्रो मच्चाएमा बथानका कमाण्डरले लखेट्ने गरेको अध्ययनहरूले देखाएको उनले जानकारी दिए।

अहिले धेरै समय यसले सौराहाका मध्यवर्ती क्षेत्रमा विचरण गरेर बिताउने गरेको छ भने कहिलेकाहीँ पोथी हात्तीहरूको खोजीमा सौराहाको हात्तीसारमा पुग्ने गरेको छ।

अहिले निकुञ्जमा ध्रुर्वे, गोविन्दे, रोनाल्डोजस्ता जङ्गली हात्ती एक्लिएर बसेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा पहिले–पहिले रोमियो, नानापाटेकर, मकुनाजस्ता हात्तीहरू रहेका थिए। तीमध्ये मकुनाले आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाउँदा मकुना मरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *