एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी

वासिङटन । विश्व बैङ्कले विकासशील देशलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग विस्तार गर्न आग्रह गर्दै यसलाई बेवास्ता गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी दिएको छ ।

विश्व बैङ्क समूहको वार्षिक ‘विश्व विकास प्रतिवेदन’ सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआइले विकासशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बताए ।

“एआइले विकासशील अर्थतन्त्रका लागि जीवनरेखाजस्तो अवसर दिएको छ र उनीहरूले यसको सदुपयोग गर्नुपर्छ,” उनले भने । उनले एआईका फाइदा लिन ठूला मोडेल वा विशाल डेटा सेन्टर आवश्यक नपर्ने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकताअनुसार कम लागतका एआई उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिए ।

मुख्य रूपमा अमेरिका र चीनमा विकास गरिएका अत्याधुनिक एआई मोडेलले ठूलो परिमाणमा तथ्याङ्क विश्लेषण गर्ने तथा दक्ष जनशक्तिले लामो समय लगाएर गर्ने कामलाई स्वचालित बनाउन सक्ने क्षमता राख्छन् ।

यस्ता एआई प्रणाली सञ्चालनका लागि विशाल डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार आवश्यक पर्ने भएकाले अत्यधिक ऊर्जा र पानी खपत हुने तथा यसको प्रभाव जलवायु परिवर्तनमा समेत पर्ने प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैङ्कले जारी गरेको विज्ञप्तिमा विकासशील अर्थतन्त्र तीन दशकयताकै कमजोर औसत आर्थिक वृद्धिको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै एआइले सन् २०२० को दशकको अन्त्यसम्ममा उनीहरूको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताएको छ ।

प्रतिवेदनले एआइको प्रयोगमार्फत महँगो चिकित्सा, कानुनी, शैक्षिक र कृषि सेवा सेवाबाट वञ्चित अर्बौं मानिससम्म पुर्याउन सकिने उल्लेख गरेको छ ।

विश्व बैङ्कका अनुसार कम आय भएका देश २०२० को दशकभरि नै विभिन्न सङ्कटको सामना गरिरहेका छन् । महामारीपछिको आर्थिक प्रभाव, द्वन्द्व र अन्य विश्वव्यापी चुनौतीका कारण उनीहरूको आर्थिक वृद्धिमा ठूलो दबाब परेको छ ।

बैङ्कले विकासशील देशलाई स्थानीय आवश्यकताअनुसार एआई समाधान विकास गर्न, विद्युत् उत्पादन तथा वितरणमा लगानी बढाउन, कम्प्युटिङ क्षमतामा पहुँच विस्तार गर्न र स्थानीय तथ्याङ्क प्रणाली सुधार गर्न सुझाव दिएको छ ।

प्रतिवेदन निर्देशक गौरव नायरले एआइले लामो समयदेखि समाधान हुन नसकेका समस्या सम्बोधन गर्ने ‘जीवनमा एक पटक आउने अवसर’ प्रदान गरेको बताए ।

प्रतिवेदनले विकासशील देशमा रहेका करिब छ अर्ब ८० करोड मानिस (विश्व जनसङ्ख्याको करिब ८३ प्रतिशत)का आवश्यकताअनुसार एआई उपकरणलाई अनुकूल बनाउनुपर्नेमा जोड दिएको छ ।
यसले बङ्गलादेशमा मधुमेह परीक्षण विस्तार तथा भारतमा उन्नत मौसम पूर्वानुमानमार्फत किसानलाई सहयोग पुर्याउने एआई प्रयोगका उदाहरण प्रस्तुत गरेको छ ।

विश्व बैङ्कले स्मार्टफोनको पहुँच नभएका मानिसका लागि सामान्य मोबाइल फोनमा आवाजमार्फत प्रयोग गर्न सकिने एआई समाधान विकास गर्नुपर्ने उल्लेख गरेको छ ।

विश्व बैङ्कले एआई विस्तार गर्दा सार्वजनिक विश्वास कायम गर्नुपर्नेमा पनि जोड दिएको छ । एआई प्रयोगका क्रममा सरकारी निर्णयमा पूर्वाग्रह देखिए वा व्यक्तिगत तथ्याङ्कको गोपनीयता कमजोर भएमा जनविश्वास पुनःस्थापित गर्न कठिन हुने चेतावनी दिएको छ ।

प्रतिवेदनले एआइले देशबीचको आर्थिक खाडल अझ फराकिलो बनाउन, आन्तरिक असमानता बढाउन, बजार शक्ति केही संस्थामा केन्द्रित गर्न र सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर बनाउन सक्ने जोखिम औँल्याएको छ ।

रोजगारीमा तत्काल ठूलो असर नदेखिए पनि दीर्घकालमा एआइले मध्यमवर्गीय रोजगारीका केही अवसर विस्थापित गर्न सक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ ।

विश्व बैङ्कले प्रतिवेदन तयार गर्न ओपनएआई, डीपसिक, गुगल र एन्थ्रोपिकलगायतका एआई उपकरणको समेत प्रयोग गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *