भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौँ । नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९ प्रतियोगिता आयोजना गर्ने भएको छ । सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रतियोगिता, अन्तरराष्ट्रिय सहभागिता, फ्रेन्चाइज लिग, प्रशिक्षण तथा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सङ्घको वार्षिक क्यालेण्डरअनुसार काभाका तीन र एउटा त्रिदेशीय प्रतियोगिता गरी चार अन्तरराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गरिने छ । त्यसैगरी वार्षिक कार्यक्रमअनुसार ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुने छ भने १०औँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप काठमाडौँमा हुनेछ । साथै ११औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग आयोजना गरिने नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबाहदुर चन्दले जानकारी दिए ।

यस्तै सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बीच भलिबल, यू–१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल, एभरेष्ट महिला फ्रेन्चाइज लिग (इभिएल) तथा एनभिएल  पुरुष नेपाल भलिबल लिग वार्षिक कार्यक्रममा समावेश छन् । एनभिएल पुरुष लिग काठमाडौँमा आगामी भदौमा आयोजना हुने अध्यक्ष चन्दले बताए ।

अन्तरराष्ट्रिय प्रतियोगितातर्फ नेपाली महिला टोलीले आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नेछ । मालदिभ्समा काभा बिच भलिबल टुर तथा काभा यू–१६ भलिबल च्याम्पियनसिप हुने छ । यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा रिफ्रेसर कोर्स, कोचेज कोर्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप आयोजना गरिने अध्यक्ष चन्दले बताए । प्रतियोगिता सञ्चालनका लागि करिब रु २० करोड अनुमानित खर्च लाग्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *