सुडानी सेनाको ड्रोन आक्रमणबाट डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

कायरो । सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाको ड्रोन आक्रमणले कम्तीमा ३५ जनाको मृत्यु भएको मानवअधिकार समूहले बताएको छ ।

सुडानमा अत्याचारहरूको दस्तावेजीकरण गर्ने स्वतन्त्र समूह ‘इमर्जेन्सी लयर्स’ ले भनेको छ, ‘ड्रोनहरूले उत्तरी डार्फर राज्यको अल–जाविया गारा गाउँमा रहेको नागरिक अदालतको मुख्यालयलाई निसाना बनाए, जुन ‘यस क्षेत्रमा न्यायिक र सामाजिक भूमिका खेल्ने नागरिक सुविधा’ हो ।

समूहले वक्तव्यमा घटनाको अनुसन्धानको माग गर्दै भनेको छ, “नागरिक र सार्वजनिक निकायहरूविरुद्ध आक्रमण निर्देशित गर्नु अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन हो ।”

सुडान सन् २०२३ अप्रिलमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस र सुडानी सेनाबीच पूर्ण युद्धमा फसेको थियो। सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क (एसिएलइडी) नामक द्वन्द्व अनुगमन समूहका अनुसार कम्तीमा ५९ हजार मानिसको मृत्यु भएको छ । सहायता समूहहरू भन्छन्, ‘यो सङ्ख्या कम अनुमानित हो र वास्तविक सङ्ख्या धेरै गुणा बढी हुन सक्छ।’

ड्रोन युद्ध यस देशको लडाइँको एक प्रमुख विशेषता बनेको छ, जहाँ दुवै पक्षले आक्रमण गर्छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार युद्ध अहिले सुडानमा मृत्युको प्रमुख कारण हो, जसले सन् २०२६ को पहिलो चार महिनामा नागरिकहरूको मृत्युको ८० प्रतिशत हिस्सा ओगटेको छ । सुडानी सेनाले टिप्पणीका लागि गरिएका अनुरोधहरूको जवाफ दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *