भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन । चितवनको भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरीपश्चातको सेवा ‘म्याट्रेस’ राखेर दिनुपर्ने अवस्था आएको छ । गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्छ । अस्पतालमा प्रसूतिसँग सम्बन्धित शय्याहरू १११ वटा छन् ।

प्रसूति शल्यक्रियापछि राख्ने ‘गाइने’को ‘पोस्टअप’ २३ शय्या, गाइने शय्या २३, जटिल गाइने १०, प्रसूतिपछि राख्ने ‘पोस्टनेल’ २३, प्रसूति भर्ना चार, प्रसूति ‘वेटिङ’ १५, प्रसूति ‘एक्टिभ’ पाँच, ‘लेबर’ तीन र ‘बर्थिङ युनिट’ पाँच शय्या छन् ।

वरिष्ठ प्रसूति रोग विशेषज्ञ सहप्रध्यापक डा. रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जनाको प्रसूति गराउने गरिएको छ । सुत्केरी हुनुअघि औषधि चलाउँदा शय्यामा राखेर मात्र चलाउने गरिएको छ । त्यसअघि पालो कुर्नका लागि भुइँमा ‘म्याट्रेस’मा राख्न बाध्य भएको उनले बताए ।

चितवनसहित छिमेकी जिल्लाका प्रसूति सेवा लिनेहरूको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गर्छ । अनुभवी नर्सिङ सेवासँगै विज्ञ चिकित्सक र बाल सघन उपचार कक्ष भएकाले प्रसूति गराउनेहरूको रोजाइ भरतपुर अस्पताल हुने गर्छ ।

अस्पतालका प्रवक्तासमेत रहेका उनले भने, ‘अन्य मौसममा प्रसूति गराउन आउनेको संख्या कम हुने भएकाले सहजै शय्या पाउने भए पनि यो समयमा गाह्रो हुने गरेको छ ।’ यही समयका लागि मात्रै शय्या व्यवस्थापन गर्न कठिन हुने भएकाले गर्भवतीले सहज सुविधा पाउन गाह्रो भएको उनले बताए ।

वरिष्ठ प्रसूति रोग विशेषज्ञ सापकोटाका अनुसार असोज, कात्तिक महिनामा दसैँ र तिहारजस्ता पर्व मनाउन घरबाहिर रहेकाहरू घरमा आउने गर्छन् । सोही समयमा गर्भ बसेकाहरूको यो समयमा सुत्केरी हुन्छ । सोही कारणले यो समयमा प्रसूति गराउनेहरूको संख्या बढेको हुन सक्ने जनाइएको छ ।

अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र २९ जना नर्सिङ सेवाका तालिमप्राप्त कर्मचारी छन् । यसकारण सुत्केरी गराउनेहरूलाई अन्यत्रभन्दा सहज हुने गरेको उनको भनाइ छ ।

अस्पतालमा नै २० शय्याको बाल सघन उपचार कक्ष र चार शय्याको ‘कङ्गारु मदर केयर’ पनि रहेको छ । अस्पतालमा दक्ष ‘नर्स’ र ‘मिड वाइफ’ले मात्र नजजात शिशु निकाल्न सहयोग गर्ने पाँच शय्याको बर्थिङ युनिट छ । प्रसूति सेवामा यस अस्पताललाई प्रसूति गृहपछिको व्यवस्थित र विश्वासिलो रूपमा लिने गरिन्छ ।

प्रवक्ता डा. सापकोटाले गत आर्थिक वर्षमा ७ हजार ८५३ जनाले अस्पतालबाट प्रसूति सेवा लिएको जानकारी दिए । उनका अनुसार तीमध्ये ४ हजार २३५ जनाको सामान्यस्तरबाट बच्चा निकालिएको हो भने ३ हजार ५४० जनाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो । ७० जनाको ‘भ्याकुम’ र ‘फोर्सएप’ नामक उपकरण प्रयोग गरेर शिशु झिकिएको छ ।

अघिल्लो आर्थिक वर्षमा ८ हजार ४२० जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए । तीमध्ये ३ हजार ८२५ जनाको शल्यक्रिया गरेर शिशु झिकिएको हो भने ४ हजार ४०८ जनाको सामान्य तरिकाले बच्चा निकालिएको हो । १८७ जना आमाको उपकरण प्रयोग गरी सुत्केरी गराइएको थियो ।

गत वर्ष ४५ प्रतिशतको शल्यक्रिया गर्नुपरेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत ४५.४ रहेको थियो । जटिल प्रकृतिका समेत धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *