काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका तीन नायब सुब्बासहित पाँच जनालाई तीन लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
आयोगका अनुसार नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने उजुरी परेको थियो।
उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरूलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा साउन शुक्रबार ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।
कारबाहीका क्रममा घुसबापत लिइएको तीन लाख रुपैयाँसहित स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ पनि बरामद भएको आयोगले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
