हवाई फायर गरी तीन किलो अफिमसहित रुकुम पश्चिमबाट दुई जना पक्राउ

रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका –४ छोटेबगरमा करिब तीन किलोग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीबाट एक राउन्ड हवाई फायर गरिएको थियो । शुक्रबार प्रहरी टोलीले आठविसकोट नगरपालिका –०३ स्यालाखदी बस्ने २८ वर्षीय टीकाराम बोहरा र आठविसकोट नगरपालिका –०२ स्याला बस्ने २० वर्षीय गणेश वलीलाई सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकी जाँच गर्न खोजेको थियो ।

जाँचका क्रममा टीकाराम बोहराले बोकेको झोलाबाट गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षक निरज बहादुर पालले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणपछि गरिएको शरीर तथा झोला खानतलासीका क्रममा करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *