काठमाडाैँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको संघ कल्याण समितिको आयोजनामा काग्यू परम्पराका महान आचार्य गम्पोपा (डाक्पो ल्हाजे) को महापरिनिर्वाण दिवस विविध धार्मिक तथा शैक्षिक कार्यक्रमका साथ श्रद्धापूर्वक मनाइएको छ।
कार्यक्रममा भोट बौद्ध अध्ययन कार्यक्रमका विद्यार्थी, विश्वविद्यालयका पदाधिकारी, क्याम्पस प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साे अवसरमा विशेष पूजापाठ, आचार्य गम्पोपाको जीवन, दर्शन तथा बौद्ध धर्ममा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानबारे प्रवचन, शैक्षिक विमर्श तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रमका वक्ताहरूले ज्ञान, करुणा, बोधिचित्त र ध्यान साधनालाई समन्वित रूपमा अघि बढाउने आचार्य गम्पोपाको शिक्षाको सान्दर्भिकता आजको विश्वमा अझ बढ्दै गएको उल्लेख गरे । आठ शताब्दीभन्दा बढी समय बितिसक्दा पनि उहाँका अमूल्य उपदेशहरूले सत्य, करुणा र आत्मबोधको खोजीमा रहेका साधकहरूलाई निरन्तर मार्गदर्शन गरिरहेको उनीहरूको भनाइ थियो ।
आयोजकका अनुसार आचार्य गम्पोपाको जीवन र शिक्षाले आज पनि विश्वभरका बौद्ध साधक तथा अनुसन्धानकर्तालाई प्रेरणा प्रदान गरिरहेको छ । कार्यक्रममा वक्ताहरूले उहाँको बौद्ध दर्शन, ध्यान साधना तथा काग्यू परम्पराको विकासमा रहेको ऐतिहासिक योगदानबारे प्रकाश पारेका थिए ।
कार्यक्रमको सफल आयोजनाका लागि संघ कल्याण समिति अध्यक्ष खेन्पो कर्म ठिन्ले, आयोजक समिति, अतिथिगण, वक्ता, विश्वविद्यालय परिवार तथा सम्पूर्ण सहभागीप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।
आचार्य गम्पोपा काे हुनुहुन्छ ?
सन् १०७९ मा मध्य तिब्बतमा जन्मिनुभएका आचार्य गम्पोपा भोट बौद्ध धर्मका महानतम आचार्यहरूमध्ये एक तथा महान योगी मिलारेपाका प्रमुख शिष्यका रूपमा परिचित हुनुहुन्छ । प्रारम्भिक जीवनमा दक्ष वैद्य तथा गृहस्थ रहनुभएका उहाँले महामारीका कारण श्रीमती र सन्तान गुमाएपछि सांसारिक जीवन त्याग गरी कदाम परम्परामा भिक्षु जीवन ग्रहण गर्नुभएको थियो । त्यसपछि उहाँ महान योगी मिलारेपाको शरणमा पुग्नुभई महामुद्राको गहन साधना र उपदेश प्राप्त गर्दै बौद्ध साधनामा समर्पित हुनुभएको थियो ।
उहाँले स्थापना गर्नुभएको डाक्ल्हा गाम्पो गुम्बा डाक्पो काग्यू परम्पराको प्रमुख केन्द्रका रूपमा विकसित भएको थियो । कदाम परम्पराको शील, बोधिचित्त र क्रमिक मार्ग (लामरिम) सम्बन्धी शिक्षालाई काग्यू परम्पराको महामुद्रा साधनासँग समन्वय गर्नु उहाँको ऐतिहासिक योगदान मानिन्छ । साथै, उहाँका प्रमुख शिष्यहरूले कर्मा काग्यू, बारोम काग्यू, छाल्पा काग्यू तथा फाग्द्रु काग्यूलगायत प्रमुख काग्यू शाखाहरूको विकास गरेका थिए ।
आचार्य गम्पोपाको प्रसिद्ध कृति ‘मोक्ष–रत्नाभूषण’ भोट बौद्ध साहित्यको अनुपम ग्रन्थका रूपमा मानिन्छ । उक्त ग्रन्थले महायान र वज्रयान दुवै दृष्टिकोणबाट बुद्धत्व प्राप्तिको सम्पूर्ण मार्गलाई व्यवस्थित रूपमा प्रस्तुत गरेको छ । उहाँका अन्य कृतिहरू पनि बौद्ध अध्ययन र ध्यान साधनाका महत्वपूर्ण आधारग्रन्थका रूपमा स्थापित छन् ।


