इन्जिनियरसँग २ करोड २६ लाख गैरकानुनी सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले बुधबार चौधरीविरुद्ध मुद्दा दायर गरेको हो । चौधरीले पदीय मर्यादा विपरीत कार्य गरी २ करोड २६ लाख १३ हजार १२३ रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार इन्जिनियर चौधरी सेवामा प्रवेश गरेको मिति २०६५ पुस ११ गतेदेखि २०८१ असार २९ गतेसम्मको जाँच अवधिमा उनको कुल वैधानिक आय २ करोड ७२ लाख ५५ हजार ७६६ रूपैयाँ देखिएको छ ।

सोही अवधिमा उनको खर्च तथा लगानी (व्यय) भने ४ करोड ९८ लाख ६८ हजार ८८९ रूपैयाँ मात्र छ । कुल आयको तुलनामा व्यय बढी देखिएको र सो बढी देखिएको २ करोड २६ लाख १३ हजार १२३ रूपैयाँको वैधानिक स्रोत नखुलेकाले उक्त रकम भ्रष्टाचार गरी आर्जन गरेको अख्तियारको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *