नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य असममा भारी मनसुन वर्षाले निम्त्याएको बाढीमा परी कम्तिमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उद्धार तथा राहत कार्यहरू गरिरहेका छन्।
यस क्षेत्रका लामो समयको गर्मी पछिको मनसुनी बर्षाले निम्त्याएको बाढी जन्य प्रकोपले मानविय क्षति हुनुका साथै विभिन्न क्षेत्रमा प्रभाव पारेको असमका मुख्यमन्त्री हिमांता विश्व शर्माले सामाजिक सञ्जाल मार्फत जनाएका छन्।
भारतको वायुसेना र राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूसहित सहयोगी एजेन्सीहरूले असममा राहत तथा उद्धार कार्यका लागि चौबीसै घण्टा काम गरिरहेको शर्माले बताए।
अधिकारीहरूले लगभग १५० वटा राहत शिविरहरू स्थापना गरेको तथा लगभग ३० हजार शिविरमा शरण लिइरहेको शर्माले बताए। मुख्यमन्त्री शर्माले बाढीबाट एक हजार ८०० भन्दा बढी गाउँका ९ लाख मानिसहरु प्रभावित भएको उल्लेख गरेका छन्।
प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा अधिकारीहरूले राहत सामग्रीको वितरणलाई सहज पहुच याग्य बनाउन ड्रोन लगायतका आवाश्यक उपकरणहरु प्रयोग गरिरहेको बताए। राष्ट्रिय विपद् व्यवस्थापन टोलीका डुङ्गाहरू सञ्चालन गर्न नसक्ने क्षेत्रहरूमा ५० भन्दा बढी साना डुङ्गाहरू तैनाथ गरिएको जनाइएको छ।
भारतीय वायुसेना र सशस्त्र बलले पनि “दुर्गम स्थानहरू“ मा राहत सामग्रीहरू वितरणमा सहकार्य गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञहरूका अनुसार सहरीकरणसँगै जलवायु परिवर्तनले मनसुनी वर्षाको आवृत्ति र गम्भीरता बढाइरहेको जनाइएको छ।
गत हप्ता, उत्तरपूर्वी राज्य नागाल्यान्ड र कश्मीरमा मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोमा परी कम्तीमा १९ जनाको मृत्यु भएको जनाइएको छ।
