नेपालको जेनजी आन्दोलन र भारतको सिजेपी आन्दोलन

-डा. जीवन क्षेत्री ।

नेपालमा जेनजी आन्दोलनका बलमा सत्तापलट भएको एक वर्ष नपुग्दै दिल्लीमा उही पुस्ताले ऐतिहासिक आन्दोलन उठाएपछि दुईबीच तुलना हुनु स्वभाविक हो । अघिल्लो भिडियोमा मैले भनेको थिएँः व्यंग्यका रुपमा शुरु भएको सिजेपीका युवाहरुले गत डेढ महिनामा जेजति सिक्न, परिपक्व हुन र नेतृत्व विकास गर्न मौका पाए, त्यसबाट नेपालको जेनजी पुस्ता वञ्चित भयो । त्यसको मूल कारणः ओली–लेखकको नालायक र संवेदनहीन सरकार जसले भदौ २३ मा केही हजारको भीडलाई संसद भवन पुग्नबाट रोक्न सकेन, भीडका केहीलाई हिंस्रक हुन र संसदको गेटमा आगजनी गर्नबाट रोक्न सकेन अनि आखिरी गोली हानेर त्यतिका युवाहरुको ज्यान लियो ।

जब २३ गतेको रातभरि पनि ओली टसकोमस भएनन्, २४ गतेको महाविनाश भयो । देशको संविधान नै धरापमा पर्यो । यो माहोलमा नेपालको जेनजी आन्दोलनपछिको चुनावसम्म पुग्दा जेनजी आन्दोलनकारी आफैं चुनाव लडेर सत्तामा पुग्ने वा आफ्ना उदात्त र भविष्यमुखी एजेण्डा बोक्ने दललाई सत्तामा पुर्याउने स्थिति भएन । जनता पुराना दलको विकल्पमा जो मात्रै हैन जे खडा हुन्छ त्यसैलाई जिताउने मुडमा थिए ।

परिणामः पञ्चायतसित नाजायज हदको आशक्ति भएको संवेदनहीन शक्ति प्रचण्ड बहुमतसहित सरकारमा पुग्न गयो । त्यसका अधिनायकवादी चरित्रका ‘वरिष्ठ नेता’ देशका प्रधानमन्त्री बन्न पुगे । बाँकी अब इतिहास भइसक्यो । त्यसैले नेपालमा जे भयो त्यो आन्दोलनकारीको दोष थिएन । बरु आन्दोलनमा च्याँखे थापेर सत्तामा पुग्न जसले भदौ २४ मा देश जलाए, तिनको दोष थियो । देश जलिसक्दा पनि आत्ममुग्धताको गुफामा हराइरहका केपी ओलीको दोष थियो । न्युनतम बल प्रयोग गरेर प्रदर्शनहरुमा हिंसा रोक्न नसक्ने हाम्रा सुरक्षा फौजहरुको कमजोरीको दोष थियो । तिनलाई पेशागत रुपमा दक्ष हैन दलीयकरणमार्फत थंग्थिलो बनाउने पुराना पार्टीहरुको दोष थियो ।

दुर्भाग्य के भने ओली र लेखकहरुको जुन हदको घमण्ड र संवेदनहीनताले देशलाई पोहोर साल दुर्घटनामा पार्यो, त्यही घमण्ड र संवेदनहीनता नयाँ सरकारले पनि देखाउन थालेको छ । तर भारतका जेनजी युवाहरुले हामीलाई पहिल्यै थाहा भएको कुरा अहिले फेरि ताजा बनाइदिएका छन्, व्यक्ति वा दल विशेष सत्तामा पुग्दैमा इतिहास सिद्धिंदैन । सत्तामा पुग्नेहरुलाई लाग्छ अब समयको बहाव ठ्याक्कै रोकिन्छ । तर प्रकृतिमा त्यो सम्भव हुँदैन ।

दलतन्त्र फाल्छौं भनेर देशलाई गुण्डातन्त्रतिर लैजाँदै गरेको नेपालको अहिलेको सत्ताले जतिसुकै शिवपुरीको धम्की देओस्, जंगी अड्डासित जति नै लम्पसार परोस्, लोकतन्त्र र गणतन्त्रको जति नै मानमर्दन गरोस्, नेपाली जनता आधारभुत रुपमा स्वतन्त्रता र परिवर्तनप्रेमी छन् । अस्ति बन्दुकको नालका भरमा शासन गर्छु भन्ने राजा ज्ञानेन्द्रलाई राजसंस्थासहित देशको संवैधानिक र राजनीतिक प्रक्रियाबाट हटाइदिए । हिजो ओली, देउवा र लेखकहरु मन परेनन्, तिनलाई सत्ता राजनीतिको मञ्चबाट बाहिर धकेलिदिए ।

अहिलेको सत्ताप्रति निराशा र आक्रोश गहिरिंदो छ तर ओली–देउवाहरुको पालामा झैं घाँटीसम्म आइसकेको छैन । त्यसैले जनताले सहिरहेका छन् । यो सत्ता सुध्रंदै जाने हो भने यसलाई नागरिकहरुले पक्कै पाँच वर्ष मौका दिन्छन् । अपेक्षाकृत राम्रो गर्यो भने अर्को पाँच वर्ष पनि दिन सक्लान् । तर अहिलेको जस्तो संवेदनहीन गुण्डातन्त्र कायम रहने हो भने रातारात के हुन सक्छ भन्ने नजिर अब बसिसकेको छ ।
नेपालका शासकहरुलाई पनि इतिहास नटुंगिएको कुरा सम्झाइदिएकोमा भारतका तमाम प्रदर्शनकारी नागरिकहरुलाई धन्यवाद ।

यति छिटो गल्ने वा ढल्ने गरी कमजोर भारतको सत्ता संस्थापन छैन । तर रातारात जस्तो उसले खडा गरेका दमन र निषेधका भौतिक र मनोवैज्ञानिक पर्खालहरु जुन रफ्तारमा भत्किँदै छन्, त्यो सुखद र आशलाग्दो कुरा हो । हिन्दू–मुस्लिम मुद्दामा बाँडिएको समाज न्याय र प्रगतिको माग गर्दै गोलबद्ध हुनु, एउटा सिंगो पुस्ता जागरुक हुनु, केही समय अघि मात्रै आतंककारीलाई लगाउने कानुन लगाएर महिनौं थुनिएका सत्याग्रही नयाँ गान्धीका रुपमा उदाउनु, यी सब भारतका लागि सुखद कुरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *