वामपन्थी कम्युनिष्ट शक्तिदेखि नेपाली कांग्रेसलगायत दलहरूबीच सहकार्य जरुरी छः प्रचण्ड

जनकपुरधाम  । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न परिवर्तनपक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा बुधबार आयोजित नेकपा मधेश प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराउँदै संयोजक दाहालले यस्ताे बताएका हुन् ।

उनले मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र संघीय व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएकाले परिवर्तनका पक्षमा संघर्ष गरेका राजनीतिक दलहरूबीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताए ।

संयोजक दाहालले भने, ‘कठिन परिस्थितिको सामना गर्न हिजोका १२ बुँदे सम्झौता गर्नेदेखि संविधासभा र संविधान निर्माण गर्नेसम्म सहकार्य गरेका राजनीतिक दलबीच सहकार्य आवश्यक छ ।’ त्यसका लागि वामपन्थी कम्युनिस्ट शक्तिदेखि नेपाली कांग्रेसलगायत दलहरूबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो ।

वामपन्थी कम्युनिस्ट घटकहरूबीच ध्रुवीकरण गर्दै एकताको पहल कदमी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्दै नेकपा संयोजक दाहालले सहकार्यका विषयमा नेकपा (एमाले)सँग पनि प्रयास भइरहेको बताए ।

प्रदेशमा पार्टीलाई मजबुत बनाउन नसकिए पार्टीको पनि भविष्य राम्रो नबन्ने र मुलुकको पनि भविष्य राम्रो नहुने भएकाले आफ्नो पार्टीले मधेशलाई उच्च प्राथमिकतामा राखेको बताउँदै संयोजक दाहालले आगामी मंसिरमा हुने पार्टीको महाधिवेशनबाट ५० प्रतिशत युवालाई पार्टीको विभिन्न कमिटीमा समेटिने योजना बनाएको बताए ।

विभिन्न वामपन्थी घटकबीचको एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणमा पार्टी संयोजक दाहालसँगै पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेतृत्वले प्रशिक्षण दिनेछन् । आज साँझसम्म चल्ने प्रशिक्षणमा मधेश प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *