बाजुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु, चालकसहित ७ जना घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् ।

सोमबार दिउँसो धुलाचौरबाट दुधिला खोलातर्फ गइरहेको सु.प्र.प्र. ०१–००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिप हिमाली गाउँपालिका–२ नातीखोला निवासी अन्दाजी २५ वर्षीय जनवीर बुढाले चलाएका थिए।

दुर्घटनामा घाइते भएका हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का अन्दाजी ४० वर्षीय अम्मर सिंह बुढाको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक जनवीर बुढासहित सात जना घाइते भएका छन्। घाइतेमध्ये चालक जनवीर बुढा र ३१ वर्षीया मिजरा बुढाको टाउकोमा चोट लागेको छ भने उनीहरूको अवस्था मध्यम रहेको छ।

अन्य घाइतेहरूमा हुम्लाको ताजाकोट गाउँपालिका–५ की २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंग सिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा तथा अन्दाजी ९ वर्षीया सुस्मा बुढा रहेका छन्। उनीहरूको कम्मर, हात, टाउको र आँखामा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

सबै घाइतेहरूको कोल्टी आधारभूत अस्पताल, बाजुरामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *