काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध चलाइएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि सांसद न्यौपानेले न्यायालयबारे निर्मम समीक्षा गर्नुपर्ने बताएका हुन् । उनले न्यायालय पुनरसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव नभएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘विगतका केही श्रृङ्खलाबद्ध घटनाक्रमहरूले स्पष्ट पारिरहेको छ। न्यायालय पुनरसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन, साथै आमसर्वसाधारण नागरिकले समेत न्यायको प्रत्याभूत गर्न सक्ने अवस्था रहँदैन । न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। यस कर्मलाई जति ढिला गर्यो त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्छ। राज्यका सबै निकायले परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्दछ र मात्रै देश परिवर्तन गर्न सम्भव छ। यो मेरो आवेगमा आएर बुझेको बुझाई नभई गम्भीर समीक्षाबाट निस्किएको निष्कर्ष हो ।’
