पार्टी र जनतालाई हित हुनेगरी कांग्रेसले निर्णय लिन्छ : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टी र जनतालाई हित हुनेगरी कांग्रेसले निर्णय लिने बताएका छन् । नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनले शुक्रबार आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा महामन्त्री कोइरालाले कांग्रेस संवेदनशील भएर अगाडि बढ्ने बताएका हुन् ।

“कांग्रेस कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारमा जाँदैन”, उनले भने । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा गरेको फैसला कांग्रेसलाई स्वागतयोग्य भएको उनको भनाइ थियो ।

कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस प्रतिनिधिसभाको निर्वाचन गराउनका लागि सरकारमा जानुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले नेपाल कम्युनिष्ट पार्टी विधिवत रुपमा नफुटेसम्म कांग्रेस सरकारमा जान नहुने बताए।

केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानले दिएको अधिकारअनुरुप नै कांग्रेस संसद्मा प्रस्तुत हुने बताए । कांग्रेस नेता दीपक खड्काले वर्तमान सरकारले लोकतन्त्र र संविधानलाई धरापमा पार्दै लगेको भन्दै यसको रक्षाका लागि कांग्रेस लाग्नुपर्ने उल्लेख गरे । कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, धनराज गुरुङ, एनपी साउदलगायतले नेकपाको आन्तरिक झगडाका कारण मुलुक सङ्कटमा परेको बताएका थिए । एशोसियशनका अध्यक्ष योगेन्द्र अधिकारीले कांग्रेसले सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्नेबारे पार्टीभित्र व्यापक छलफल गरेर उचित निर्णय लिनुपर्ने बताए ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *