काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरो र बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज बिहान ७ बजेसम्म १७ स्थानका सडकमा अवरोध भएको छ।
कोशी प्रदेशमा इलामको मेची राजमार्ग, पाँचथरको मध्यपहाडी लोकमार्ग, सुनसरीको चतरा–बराहक्षेत्र सडक, खोटाङको मध्यपहाडी लोकमार्ग तथा उदयपुरको सिद्धिचरण लोकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्।
ओखलढुंगाको मानेभञ्ज्याङ क्षेत्रमा रहेको सिद्धिचरण लोकमार्ग भने सञ्चालनमा आएको छ।
बागमती प्रदेशमा मकवानपुरको कान्तिलोकपथ, इन्द्रसरोवर–फाखेल–कुलेखानी–काठमाडौं सडक, सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्ग तथा ललितपुरको बागमती गाउँपालिका क्षेत्रमा पर्ने कान्तिलोकपथ अवरुद्ध छन्। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका क्षेत्रमा बाढीले प्रभावित बीपी राजमार्ग भने सञ्चालनमा आएको छ। चितवनको पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक पनि पहिरो हटाएपछि सुचारु भएका छन्।
गण्डकी प्रदेशमा कास्कीको नयाँपुल–घान्द्रुक सडक, नवलपरासी (पूर्व) को कालिगण्डकी करिडोर तथा कास्कीको मादी गाउँपालिका क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग पहिरोका कारण अवरुद्ध छन्। स्याङ्जाको सिद्धार्थ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।
केन्द्रका अनुसार पहिरो र बाढीका कारण प्रभावित सडकहरूमा स्थानीय प्रशासन, सडक विभाग र सुरक्षा निकायको टोलीले अवरोध हटाउने काम गरिरहेको छ। वर्षायाममा पहिरोको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ।

