यूएईका दुई ट्यांकरमा इरानी आक्रमण

बीबीसी । संयुक्त अरब इमिरेट्स (यूएई) ले होर्मुज जलडमरूमध्यमा आफ्ना दुई तेल ट्यांकरमाथि भएको इरानी आक्रमणको कडा निन्दा गरेको छ।

सोमबार भएको उक्त आक्रमणमा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। यसैबीच अमेरिकाले इरानमाथि लगातार तेस्रो रात हवाई आक्रमण जारी राख्दै होर्मुज जलडमरूमध्यमा नयाँ नाकाबन्दी घोषणा गरेको छ।

यूएईको रक्षा मन्त्रालयका अनुसार इरानी क्रुज मिसाइलले दुई राष्ट्रिय ट्यांकरलाई निशाना बनाएको थियो। आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। घाइतेमध्ये छ जना भारतीय र दुई जना युक्रेनी रहेका छन्।

चार जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ । यूएईले उक्त आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन तथा क्षेत्रीय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष चुनौती भएको भन्दै निन्दा गरेको छ । उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले दुई ट्यांकरले चेतावनी अवज्ञा गरेको, नेभिगेसन प्रणाली बन्द गरेको र प्रतिबन्धित मार्ग प्रयोग गर्न खोजेकाले उनीहरूलाई निशाना बनाइएको दाबी गरेको छ। आईआरजीसीले यसलाई ‘आक्रमणकारी पक्षसँगको सहकार्य’ को परिणाम भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य हुँदै हुने सबै कार्गोमा २० प्रतिशत शुल्क लगाउँदै इरानी बन्दरगाहमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गर्ने घोषणा गरेका छन्। उनका अनुसार यो व्यवस्था मंगलबारदेखि लागू हुनेछ ।

ट्रम्पले अमेरिकाले जलडमरूमध्यको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी लिने र त्यसका लागि शुल्क उठाइने बताएका छन्। साथै इरानका जहाज वा ग्राहकलाई जलमार्ग प्रयोग गर्न नदिइने, तर अन्य देशका जहाजलाई भने आवतजावतमा अवरोध नहुने उल्लेख गरेका छन्।

यसैबीच अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले राष्ट्रपति ट्रम्पको निर्देशनमा इरानका बुशेहर, चाबहार, जास्क, कोनाराक, अबु मुसा र बन्दर अब्बासलगायत क्षेत्रमा सैन्य संरचनामाथि हवाई आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार यसको उद्देश्य इरानको व्यावसायिक जहाजमाथि आक्रमण गर्ने क्षमता कमजोर बनाउनु हो ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार त्यसको प्रत्युत्तरमा इरानी सेनाले कुवेतस्थित अमेरिकी सैन्य सम्पत्तिलाई निशाना बनाएको दाबी गरेको छ। तनाव चर्किँदै गए पनि ट्रम्पले इरानसँग शान्ति सम्झौताको सम्भावना अझै कायम रहेको बताएका छन्। यता इरानी विदेशमन्त्री अब्बास अराघचीले इरान सधैं होर्मुज जलडमरूमध्यको ‘संरक्षक’ रहेको र भविष्यमा पनि रहने प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *