संचारमाध्यममा गाडी पार्किङ घटनाको निष्पक्ष छानबिन गर्न कुलमानको माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थापित सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखी त्रास सिर्जना गर्ने घटनाप्रति निन्दा गरेका छन् ।

सामाजिक संजालमार्फत अध्यक्ष घिसिङले लोकतन्त्रको मेरुदण्ड मानिने स्वतन्त्र प्रेसलाई डर, धम्की र आतंकको वातावरणमा धकेल्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘स्थापित सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखी त्रास सिर्जना गर्ने घटनाप्रति निन्दा र भत्र्सना गर्दछु।लोकतन्त्रको मेरुदण्ड मानिने स्वतन्त्र प्रेसलाई डर, धम्की र आतंकको वातावरणमा धकेल्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य–मान्यता, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको प्रत्यक्ष आक्रमण हो। डर, धम्की र त्रासमुक्त वातावरणमा स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको पूर्ण प्रत्याभूति सञ्चार माध्यमलाई हुनुपर्छ ।’

उनले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनले भनेका छन्, ‘आज भएको घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन,यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी कदम चाल्न तथा सञ्चार माध्यमलाई निर्भय वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्ने सुनिश्चितता गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *