सभामुखले पार्टीभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छः आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले घर बलियो भए सदन पनि बलियो हुने बताएका छन् ।

सोमबार पार्टी संसदीय दलको बैठकमा उनले पार्टीभित्रबाट प्रभावकारी आवाज उठ्न सके संसद् अझ प्रभावकारी बन्ने बताएका हुन् ।

आङदेम्बेले कांग्रेसले प्रतिपक्षको भूमिकामा निर्वाह गरेको जिम्मेवारी निराशाजनक नभए पनि त्यसमा थप प्रभावकारिता र उज्यालो ल्याउन आवश्यक रहेको बताए । उनले संसद् र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।

संसदीय समितिहरू छलफल र निर्णयका महत्वपूर्ण थलो भएपनि कतिपय अवस्थामा समितिहरू प्रभावहीन बन्ने अवस्था देखिएको उनले बताए । समितिलाई छलफलको माध्यम बनाउनुपर्नेमा जोड दिँदै उनले संसदीय अभ्यासलाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने बताए ।

आङदेम्बेले प्रतिपक्षले मुलुकलाई केन्द्रमा राखेर भूमिका निर्वाह गरिरहेको दाबी गरे । विगतका राजनीतिक अभ्यासको समीक्षा इतिहासले गर्ने भन्दै उनले वर्तमान अवस्थामा पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताए ।

उनले भने,‘संसदीय समितिहरू नै गम्भीर छलफल र निर्णयका मुख्य थलो हुन्।   तर कतिपय अवस्थामा समितिहरूलाई प्रभावहीन बनाउने प्रयास भएको अनुभूति हुन्छ। संसद् र समितिको गरिमा कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ। प्रतिपक्षले पार्टीभन्दा माथि उठेर मुलुकको हितलाई केन्द्रमा राखेर भूमिका निर्वाह गरिरहेको छ । सभामुखले पनि पार्टीभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ । सभामुख पार्टीको हुनुहुन्न, उहाँले आफ्नो भूमिकालाई बुझेर काम गर्नुपर्छ ।’

उनले आगामी दिनमा प्रतिपक्षको आवाजलाई थप प्रभावकारी बनाउने र सत्तापक्षलाई जिम्मेवार बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *