काठमाडौँ । नेकपा एमालेले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको भन्दै आपत्ति जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुम निरज आचर्याले यस्तो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको र आतंकित पारिएको छ । आज बिहानैदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेस्र्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो।‘
उनले स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ’स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो। सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने र काममा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको भत्र्सना गर्दछौ । यस सम्बन्धमा नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूलाई पूर्ण समर्थन गर्दछौँ ।’
पत्रकार महासंघले पनि विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रुपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ ।
अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको छ । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको हो । पार्किङ गरिएका सवारीसाधन दिउँसो प्रहरीले हटाएको छ । सरकार समर्थकले यस्तो गरेको भन्दै यस कदमको सर्वत्र विरोध भइरहेको छ ।
