काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आत्मदाहका घटना र सुकुम्बासीको अवस्थाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गरी उपसभापति शर्माले नयाँ दलबाट बनेको सरकारप्रतिको विश्वास खण्डित हुनु दुःखद भएको बताएका हुन् ।
उनले विगतमा प्रेम आचार्यले आत्मदाह गरेको र हाल गणेश नेपालीले आत्मदाह गर्ने गरी समाजमा निराशा बढ्नुको कारण खोज्नुपर्ने बताए ।
उनले भने, ‘समाजमा यो प्रकारको निराशा किन हुँदैछ ? मानिसमा किन आशा मर्दैछ ? हामी पुरानाप्रतिको विश्वास टुट्यो तर नयाँ प्रतिको विश्वास पनि किन क्रमशः खण्डित हुँदैछ ?’
उनले यो विषयलाई सत्ता–प्रतिपक्षको राजनीति नभई समाजमा आशा जगाउने प्रश्नका रूपमा लिन आग्रह गरेका छन् ।
उनले विकट गाउँबाट आएका गणेश नेपालीले काठमाडौंमा आत्मदाह गर्नुपरेकोदेखि कीर्तिपुरको होल्डिङ सेन्टरमा साना बालबालिका भोकले तड्पिरहेको अवस्थासम्मका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए ।
उनले अहिले सरकारको आलोचना गर्नेभन्दा पनि सहकार्य गरेर समाजमा आशा जगाउनुपर्ने आवश्यकता रहेको बताए । उपसभापति शर्माले होल्डिङ सेन्टरमा कोही पनि भोकै बस्न नपरोस्, फेरि कसैले आत्मदाह गर्नुपर्ने अवस्था नआओस् भन्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।
यस्ता विषयमा कांग्रेस सरकारको साथ उभिन चाहेको उनले बताए । उनले होल्डिङ सेन्टरमा गएर सुकुम्बासीको पक्षमा आवाज उठाउने युवालाई हिरासतमा राखिएको भन्दै आपत्ति जनाए ।
उनल भने, ‘अब के गर्ने ? सुकुम्बासीलाई पनि जेल हालिदिने ? अनि भन्ने— कम्तीमा जेलमा त खान र ओतको व्यवस्था छ ?’
उनले सरकार सबै नागरिकसामु भेटिनुपर्ने बताए । उनले भने, ‘सरकार सिंहदरबारमा भेटियोस्, संसदमा भेटियोस्, सुकुम्बासीका अगाडि भेटियोस्, निराश भएको युवकको अगाडि भेटियोस्, र उसलाई भनोस् सरकार छ, निराश हुनुपर्दैन, कसैले जीवन त्याग्नुपर्दैन ।’
