काठमाडौँ । प्रधानमन्त्री बालेन साह चाँडै भारत भ्रमणमा जाने भएका छन् । भ्रमणको मिति र अन्य तयारीबारे नेपाल र भारतबीच अन्तिम छलफल भइरहेको काठमाडौंस्थित स्रोतलाई उदृत गर्दै
भारती समाचार सस्था एएनआईले जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साहले नयाँ दिल्ली भ्रमणको निमन्त्रणा स्वीकार गरिसकेका छन् । तर भ्रमणको मिति भने अझै तय भइसकेको छैन ।
‘भ्रमण धेरै चाँडै हुनेछ। भ्रमणका सबै पक्षबारे छलफल भइरहेको छ, तर हालसम्म कुनै पनि विषय अन्तिम टुंगोमा पुगेको छैन,’ स्रोतलाई उदृत गर्दै एएनआईले उल्लेख गरेको छ ।
प्रधानमन्त्री बनेयता साहको यो पहिलो भारत भ्रमण हुनेछ । पदभार ग्रहण गरेपछि उनले हालसम्म भारत वा चीनमध्ये कुनै पनि छिमेकी मुलुकको भ्रमण गरेका छैनन्। यसअघि नवनियुक्त नेपाली प्रधानमन्त्रीले पहिलो द्विपक्षीय भ्रमणका लागि भारत वा चीनमध्ये कुनै एक मुलुक रोज्ने परम्परा रहँदै आएको थियो ।
त्यसको सट्टा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले दुवै देशको भ्रमण गरेका थिए । गत महिना परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारत भ्रमण गरेका थिए। उक्त भ्रमणका क्रममा दुवै पक्षले नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै विकास साझेदारी, पूर्वाधार तथा कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धका विषयमा छलफल गरेका थिए ।
भ्रमणका प्रमुख उपलब्धिमध्ये भारतले सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण सहायता कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा परियोजना नेपाललाई हस्तान्तरण गरेको थियो।
त्यसैगरी, व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउन भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस बीच सीमापार भुक्तानी प्रणालीको अन्तरआबद्धता सुरु गरिएको थियो । साथै, भाषा अनुवाद प्लेटफर्म विकासका लागि डिजिटल इन्डिया भाषिणी र काठमाडौं विश्वविद्यालय बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
