धरान । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका करिब ३५ हजार बढी वनजन्य, नगदे तथा बहुवर्षीय बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ ।
विसं २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीमा उत्पादन गरिएका बिरुवाको माग बर्सेनि बढ्दै गएको कार्यालयले जनाएको छ । सबडिभिजन वन कार्यालय रामधुनीका वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेजपत्ता र अम्बकलगायत विभिन्न प्रजातिका बिरुवा उपलब्ध छन् । केही बिरुवा यस वर्ष उत्पादन गरिएका हुन् भने केही बहुवर्षीय बिरुवा अघिल्ला वर्षदेखि संरक्षण गर्दै आइएको उनले बताए ।
रामधुनी मन्दिर नजिकै कार्यालय रहेकाले दर्शनका लागि आउने भक्तजनले समेत यहाँबाट बिरुवा लैजाने गरेका छन् । भारतबाट आउने धार्मिक पर्यटकले पनि बिरुवा लैजाने गरेकाले रामधुनीमा उत्पादन भएका बिरुवा देशका विभिन्न जिल्ला तथा सीमापारसम्म पुग्ने गरेको वन सहायक आचार्यले जानकारी दिए । उनका अनुसार असार, साउन र भदौ महिनामा बिरुवाको माग बढी हुने गरेको छ । उत्पादित बिरुवा सर्वसाधारण, सामुदायिक वन तथा विभिन्न संस्थालाई आवश्यकताअनुसार वितरण गरिन्छ । वन क्षेत्रमा रोप्न उपयुक्त प्रजातिका बिरुवामात्र उत्पादन गर्ने अनुमति भएकाले कृषि प्रयोजनका बिरुवा उत्पादन नगरिएको उनले बताए ।
दुई–चारवटासम्म बिरुवा लैजान कुनै कागजात आवश्यक नपर्ने, संस्थागत रूपमा बिरुवा लिन चाहनेले भने सम्बन्धित वडाको सिफारिस अनिवार्य हुने तथा ५० वटाभन्दा बढी बिरुवा माग गर्नेले निवेदन, नागरिकताको प्रतिलिपि र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था रहेको वन सहायक आचार्यले जानकारी दिए । उनले भने, “नर्सरीको काम फागुनबाट सुरु गरिन्छ फागुनमा बीउ राखेपछि असारदेखि बिरुवा वितरण सुरु हुन्छ ।”
नर्सरी व्यवस्थापनका लागि छुट्टै कर्मचारी खटाइएको छ । बिरुवाको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । उनले भने, बिरुवा नष्ट भए सम्बन्धित कर्मचारीले आर्थिक उत्तरदायित्वसमेत व्यहोर्नुपर्ने व्यवस्था रहेकाले नर्सरी व्यवस्थापनलाई संवेदनशील रूपमा लिइएको छ ।
बिरुवा उत्पादन र वितरणसँगै कार्यालयले सामुदायिक वनलाई प्राविधिक सहयोग, छपान तथा कटान कार्यमा सहजीकरण गर्दै आएको छ । राष्ट्रिय वन क्षेत्रमा नियमित गस्ती तथा वन उपभोक्ता समूहका गतिविधिमा सहभागिता जनाउँदै आएको छ । केही दिनअघि सिंहवाहिनी सामुदायिक वनमा वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरिएको वन सहायक आचार्यले जानकारी दिए ।
