हर्मुजमा जहाजमाथि गोलीबारी रोक्न इरानलाई अमेरिकी दबाब

बीबीसी । अमेरिका र इरानबीच आज हुने वार्ताअघि वासिङ्टनले तेहरानलाई हर्मुज जलडमरूमध्य खुला रहेको सार्वजनिक घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि गोलीबारी नगर्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार एक अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूसमक्ष निजी रूपमा जहाजमाथिको गोलीबारी गल्ती भएको स्वीकार गरेको बताएका छन्। यद्यपि, इरानी पक्षले घटनाको जिम्मेवारी आफ्नो नियन्त्रणबाहिर रहेको कट्टरपन्थी समूहलाई दिएको जनाइएको छ।

राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरूमध्यमा यस साता भएको तनावका बाबजुद दुवै पक्ष वार्ता जारी राख्न सहमत भएको बताएका छन्। ह्वाइट हाउसले भने जहाजमाथिको आक्रमणलाई जुनमा भएको युद्धविराम सम्झौताको उल्लंघनका रूपमा लिएको छ।

जुनमा भएको युद्धविराम सम्झौताअनुसार इरानले व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने सहमति जनाएको थियो। तर, अमेरिकी अधिकारीहरूका अनुसार केही कट्टरपन्थी तत्वले वार्ता विफल पार्ने उद्देश्यले जहाजमाथि गोली चलाएका थिए।

सीबीएस न्यूजका अनुसार, एक अमेरिकी अधिकारीले इरानी पक्षले ‘हामीबाट गल्ती भयो, अब वार्ता जारी राखौं’ भन्ने सन्देश दिएको बताएका छन्।

शुक्रबार अमेरिकी अधिकारीहरूले क्षेत्रीय मध्यस्थकर्तामार्फत इरानी नेतृत्वलाई हर्मुज जलडमरूमध्य खुला रहेको र व्यावसायिक जहाजमाथिको गोलीबारी तत्काल रोक्ने सार्वजनिक वक्तव्य जारी गर्न आग्रह गरिएको जानकारी दिएका छन्।

रोयटर्सका अनुसार, एक अमेरिकी अधिकारीले ‘यदि उनीहरूले यस्तो वक्तव्य दिएनन् भने त्यसको परिणाम उनीहरूका लागि राम्रो हुने छैन’ भनेका छन्। ह्वाइट हाउसले जहाजमाथिको आक्रमण गल्ती भएको सार्वजनिक रूपमा स्वीकार गर्न पनि इरानसँग माग गरेको छ।

शनिबार ओमानमा हुने वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, विशेष दूत स्टिभ विटकोफ तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनर सहभागी हुने अपेक्षा गरिएको छ।
सैबीच, हर्मुज जलडमरूमध्यमा बढ्दो तनाव कम गर्न र सुरक्षित जलयातायात सुनिश्चित गर्न कतारको एक प्रतिनिधिमण्डल पनि शुक्रबार इरान पुगेको छ।

ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानले वार्ता जारी राख्न आग्रह गरेको र अमेरिका त्यसका लागि तयार भए पनि युद्धविराम भने समाप्त भइसकेको स्पष्ट सन्देश दिएको बताएका छन्।

यस साता खाडी क्षेत्रमा भएको आक्रमण–प्रत्याक्रमणपछि शुक्रबार नयाँ सैन्य आक्रमणको खबर आएको छैन। अमेरिकाले सिफारिस गरेको ओमानी जलक्षेत्रको मार्ग प्रयोग गरिरहेका तीनवटा जहाज आक्रमणमा परेका थिए। इरानले भने आफ्नो जलक्षेत्र हुँदै जाने मार्ग मात्र सुरक्षित रहेको दाबी गर्दै आएको छ।

गत महिना अमेरिका र इरानले १४ बुँदे समझदारीपत्रमा सहमति जनाएका थिए। उक्त समझदारीको उद्देश्य युद्धविरामलाई दीर्घकालीन बनाउनु र सबै मोर्चामा जारी तनाव अन्त्य गर्नु रहेको बताइएको छ।

सम्झौताअनुसार इरान र ओमानले अन्य खाडी मुलुकसँग मिलेर हर्मुज जलडमरूमध्यको भावी प्रशासन र समुद्री सेवाको व्यवस्थापनबारे थप वार्ता गर्नेछन्।

इरानको फार्स समाचार एजेन्सीका अनुसार, नयाँ समझदारी कार्यान्वयन भएमा हर्मुज जलडमरूमध्यको व्यवस्थापन ओमानसँगको समन्वयमा इरानले गर्नेछ। साथै, जलमार्ग प्रयोग गर्ने जहाजबाट सेवा शुल्क लिने व्यवस्था पनि लागू हुन सक्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *