नेपालमा पहिलो पल्ट दलाई लामाको जन्मोत्सव सरकारको औपचारिक अनुमतिमा मनाउनु सामान्य होइनः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले केही दिन अघि नेपालमा पहिलो पल्ट दलाई लामाको जन्मोत्सव सरकारको औपचारिक अनुमतिमा मनाएको घटना सामान्य नभएको बताएका छन् ।

बुधबार राति सामाजिक संजालमार्फत श्रेष्ठले यसले वर्तमान सरकार नेपालको परराष्ट्र नीतिमा गम्भीर बिचलनतर्फ उन्मुख हुँदैछ भन्ने स्पष्ट भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा र उनको कथित सरकारको तर्फबाट बधाई आएदेखि नै नेपालमा यसको अन्तर्यका बारेमा गम्भीर आशंका सहित चर्चा हुँदै आएको थियो । दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा पनि भइरहेका छन् । यसबीचमा केही दिन अघि मात्र नेपालमा पहिलो पल्ट दलाई लामाको जन्मोत्सव सरकारको औपचारिक अनुमतिमा एक समारोहका साथ मनाइयो, जसमा कतिपय पश्चिमा राष्ट्रका काठमाडौँस्थित कूटनीतिज्ञहरू समेतको उपस्थिति रहेको कुरा सार्वजनिक भएका छन्।यो सामान्य घटना होइन । यसले वर्तमान सरकार नेपालको परराष्ट्र नीतिमा गम्भीर बिचलनतर्फ उन्मुख हुँदैछ भन्ने आशंकालाई बल पुर्याएको छ ।’

उनले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई गम्भीर जोखिम र संकटमा धकेल्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘सरकारले नेपालले लिँदै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई औपचारिकतामा सीमित गर्दै व्यवहारमा त्यसबाट विचलन भएर कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्ने दिशामा अघि बढ्यो भने त्यसले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई गम्भीर जोखिम र संकटमा धकेल्नेछ । देशभक्त नेपाली जनतालाई त्यो किमार्थ स्वीकार्य हुनेछैन र त्यसको सशक्त प्रतिरोध अनिवार्य हुनेछ ।तसर्थ म सरकारलाई राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको विरुद्ध यस प्रकारको कुनै पनि गतिविधि नगर्न गम्भीर चेतावनी दिन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *