काठमाडौँ। प्रतिनिधि सभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका लागि गठित समितिले सभामुखसमक्ष बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई निर्देशन दिइएको छ ।
संघीय संसद् सचिवालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधि सभाको जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई जानकारी गराइएको थियो ।
त्यसपछि जेठ १८ गते बसेको प्रतिनिधिसभा बैठकले थप अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।
सोही निर्णयबमोजिम प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख सदस्य रहने गरी समिति गठन गरिएको थियो ।
समितिले जेठ २५ गते सभामुखसमक्ष आफ्नो प्रतिवेदन पेश गरेको र सभामुखबाट प्रतिवेदन अध्ययनपछि आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन प्राप्त भएको सचिवालयले जनाएको छ ।
