बीबीसी । हर्मुज जलडमरूमध्यमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा व्यापक हवाई तथा क्षेप्यास्त्र हमला गरेको छ ।
इरानले यसलाई गत महिना भएको अमेरिका–इरान समझदारीको उल्लंघन भएको भन्दै निर्णायक जवाफ दिने चेतावनी दिएको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार मंगलबार गरिएको कारबाहीमा इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)का हर्मुज जलडमरूमध्यमा रहेका ६० भन्दा बढी साना डुंगा, मिसाइल प्रक्षेपण स्थल र सैन्य अड्डालाई निशाना बनाइएको छ। आक्रमण गरिएका स्थानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा अमेरिकी हमला भएको छ। छर्राका कारण केही व्यक्ति घाइते भएका छन् भने हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन।
इरानका उपविदेशमन्त्रीले अमेरिकी कारबाहीलाई गत महिना हस्ताक्षर भएको अमेरिका–इरान समझदारीको प्रत्यक्ष उल्लंघन भएको आरोप लगाउँदै तेहरानले राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने बताएका छन्।
सेन्टकमले भने अन्तर्राष्ट्रिय जलमार्गमा व्यावसायिक जहाजमाथि भएको आक्रमणको मूल्य चुकाउन इरानलाई बाध्य पार्न सैन्य कारबाही गरिएको जनाएको छ। अमेरिकाले इरानको गतिविधिलाई युद्धविरामको स्पष्ट उल्लंघनसमेत भनेको छ।
सैन्य हमलाअघि अमेरिकाले इरानलाई तेल तथा पेट्रोलियम पदार्थ बिक्री गर्न दिइएको अस्थायी छुट पनि रद्द गरेको थियो। उक्त छुट गत महिना भएको अमेरिका–इरान समझदारीअन्तर्गत दिइएको थियो।
इरानको विदेश मन्त्रालयले तेल प्रतिबन्ध पुनः लागू गर्ने अमेरिकी निर्णयलाई सम्झौताविपरीत भएको भन्दै वासिङ्टनको ‘खराब नियत, असंगत र अविश्वसनीय’ व्यवहारको प्रमाण भएको टिप्पणी गरेको छ।
यसबीच कतार र साउदी अरेबियाले पनि आफ्ना तेल ट्याङ्करमाथि हर्मुज जलडमरूमध्यमा आक्रमण भएको दाबी गर्दै त्यसको जिम्मेवार इरानलाई ठहर गरेका छन्।
कतारले ‘अल–रेकय्यात’ नामक जहाजमाथि लक्षित आक्रमण भएको जनाएको छ भने साउदी अरेबियाले ‘वादियान’ नामक आफ्नो ट्याङ्करमाथि आक्रमण भएको पुष्टि गरेको छ। दुवै देशले घटनालाई अन्तर्राष्ट्रिय जलयातायात तथा विश्व ऊर्जा सुरक्षामाथिको आक्रमणको संज्ञा दिएका छन्।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले कतारको आरोप अस्वीकार गर्दै इरानसँग समन्वय नगरी सञ्चालन हुने वा जहाजको ट्र्याकिङ प्रणालीमा हस्तक्षेप गर्ने जहाज दुर्घटनाको जोखिममा पर्ने बताएका छन्।
गत महिना अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारीले युद्धविरामलाई निरन्तरता दिने, इरानले परमाणु हतियार विकास नगर्ने तथा हर्मुज जलडमरूमध्यको भावी व्यवस्थापनबारे इरान, ओमान र अन्य खाडी मुलुकबीच सहकार्य गर्ने व्यवस्था गरेको थियो। तर पछिल्ला घटनाले उक्त समझदारी संकटमा परेको संकेत गरेको छ।
