खामेनीका तीन छोरा अन्त्येष्टिमा सहभागी, सर्वोच्च नेता मोज्तबा अझै भएनन् सार्वजनिक

रोयटर्स । इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका तीन छोरा आइतबार तेहरानमा आयोजित अन्त्येष्टि समारोहमा सहभागी भए पनि उनका उत्तराधिकारी तथा वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी भने सार्वजनिक रूपमा देखिएका छैनन् ।

इरानी सरकारी टेलिभिजनका अनुसार मोस्तफा, मेयसाम र मसुद खामेनीले तेहरानस्थित इमाम खोमेनी ग्रान्ड मुसल्लामा राखिएको आफ्ना पिता तथा परिवारका अन्य चार सदस्यको पार्थिव शरीरअघि प्रार्थना गरेका थिए।

खामेनीसहित उनका परिवारका केही सदस्य फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको हवाई आक्रमणमा मारिएका थिए। त्यसपछि सुरु भएको युद्ध केही सातापछि अस्थायी युद्धविराममा पुगे पनि त्यसले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।

इरानले खामेनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न एक सातासम्म देशव्यापी अन्त्येष्टि कार्यक्रम सञ्चालन गरिरहेको छ। शनिबार काँचले ढाकिएको कफिनमा खामेनीको पार्थिव शरीर सार्वजनिक दर्शनका लागि राखिएको थियो। सोही स्थानमा उनकी छोरी, ज्वाइँ, बुहारी र १४ महिनाकी नातिनीको पार्थिव शरीर पनि राखिएको थियो।

आइतबार हजारौँ सर्वसाधारण, सैनिक तथा धार्मिक विद्यार्थीले मुसल्ला परिसरमा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए। सहभागीहरूले अमेरिका र इजरायलविरुद्ध प्रतिशोधको सन्देश लेखिएका झण्डा बोकेका थिए। भीड अत्यधिक भएपछि श्रद्धाञ्जलि कार्यक्रम निर्धारित समयभन्दा करिब एक घण्टा थप गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

यसबीच, फेब्रुअरी २८ को आक्रमणमा घाइते भएका भनिएका मोज्तबा खामेनी हालसम्म कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। रोयटर्ससँग कुरा गरेका उनका निकट स्रोतका अनुसार आक्रमणमा उनको अनुहार गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो भने एक वा दुवै खुट्टामा पनि गम्भीर चोट लागेको थियो।

अन्त्येष्टिमा सहभागी एक युवतीले अर्धसरकारी तस्निम समाचार एजेन्सीसँग कुरा गर्दै नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीलाई प्रत्यक्ष देख्ने अपेक्षा गरे पनि त्यो पूरा नभएको बताइन्।

युद्धपछि गत महिना भएको अन्तरिम सम्झौतापछि युद्धविराम कायम छ। इरानी अधिकारीहरूले उक्त सम्झौताले देशलाई ठूलो आर्थिक लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्। सम्झौताअनुसार विदेशमा रोक्का गरिएका इरानका अर्बौँ डलर बराबरका सम्पत्ति फुकुवा गर्ने तथा केही आर्थिक प्रतिबन्धमा छुट दिने व्यवस्था गरिएको छ।

आइतबारको श्रद्धाञ्जलि कार्यक्रममा राष्ट्रपति मसुद पेजेशकियन र संसद्का सभामुख मोहम्मद बाकेर कालिबाफ पनि सहभागी भएका थिए। अन्तिम प्रार्थनाका क्रममा मसुद खामेनी भावुक हुँदै आँसु पुछिरहेको दृश्य सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *