काठमाडौं । इंग्ल्याण्ड फिफा विश्वकप-२०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको अन्तिम १६ को खेलमा सह-आयोजक मेक्सिकोलाई ३-२ गोलले पराजित गर्दै इंग्ल्याण्डले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
मेक्सिको सिटी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन जुड बेल्लिन्घामले दुई र ह्यारी केनले एक गोल गरे । मेक्सिकोको लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले समान एक/एक गोल गरे । खेलको ३६ औँ मिनेटमा बुकायो साकाको क्रसमा बेल्लिन्घामले हेडर गोल गर्दै इंग्ल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । लगत्तै दुई मिनेटपछि केनको पासमा बेल्लिन्घामले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर बनाए ।
४२ औँ मिनेटमा क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ५४ औँ मिनेटमा जारेल कुन्साह रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि इंग्ल्याण्ड १० खेलाडीमा समेटिएको थियो । उनले इंग्ल्याण्डका गाल्लार्डोलाई खराब फावल गरेपछि रेफ्रीले भिएआरको मद्दतमा सिधैं रातो कार्ड दिएका हुन् ।
६ मिनेटपछि ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई ३-१ गोलको अग्रता दिलाए । जारी विश्वकपमा केनको यो छैटौँ गोल हो । ६९ औँ मिनेटमा राउलले गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काउने प्रयास गरेका थिए । केनले पेनाल्टी बक्समा फावल गरेपछि घरेलु टोलीले पेनाल्टी पाएको थियो ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इंग्ल्याण्ड ३-२ गोलको जित निकाल्दै अन्तिम ८ मा पुगेको हो । हारसँगै मेक्सिको प्रतियोगिताबाट बाहिरिएको छ । अब इंग्ल्याण्डले क्वाटर फाइनलमा नर्वेको सामना गर्नेछ । आजै राति भएको खेलमा पाँचपटकको विश्व विजेता ब्राजिललाई २-१ गोलले स्तब्ध पार्दै नर्वे क्वाटरफाइनलमा पुगेको थियो ।
आज राति हुने अन्तिम १६ का खेलहरु
पोर्चुगल विरुद्ध स्पेन (राति १२:४५ बजे)
अमेरिका विरुद्ध बेल्जियम (बिहान ५:४५ बजे)
