काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ३४ करोड ४४ लाख २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बोर्डले शुक्रबार विज्ञप्ति जारी गरी उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्मका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाको स्वास्थ्य बीमा दाबी बक्यौता फछ्र्योट भएको जनाएको छ ।
बोर्डका अनुसार सामाजिक स्वास्थ्य सुरक्षा प्रणालीको प्रमुख आधारका रूपमा रहेको स्वास्थ्य बीमा कार्यक्रमले सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद दैनिक हजारौं बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै उपचार खर्चबाट हुने वित्तीय जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
यद्यपि, कार्यक्रमका लागि दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी भुक्तानी समयमै गर्न नसकिएको र त्यसबाट स्वास्थ्य संस्था तथा बीमित सेवाग्राहीमा असहज अवस्था सिर्जना भएको बोर्डले स्वीकार गरेको छ।
मंसिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल जारी रहेको बोर्डले जनाएको छ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचारमा कुनै अवरोध नआउने गरी निर्धारित मापदण्डअनुसार गुणस्तरीय स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउन आग्रह गरेको छ।
साथै, बीमितलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवारीपूर्वक सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन बोर्डले अनुरोध गरेको छ।
